१२ आश्विन २०८१, शनिबार

बजेट नसच्याइकन पारित हुन सक्दैनः उपेन्द्र यादव

प्रकाशित मिति :  22 June, 2023 3:43 pm


काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रिय कार्यलय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विगतका कमी कमजोरीहरूलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताएका हुन् ।

उनले आदिवासी, मधेसी मुद्दाहरू सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने लक्ष्य रहेको बताउँदै समाजवादी मोर्चा गठन गर्दा आफ्नो अस्तित्व नै सकियो भन्ने किसिमका समाचारहरू आइरहेको भन्दै समाजवादी मोर्चाले आदिवासी, जनजाती, मधेसी र पहिचानवादीको मुद्दालाई झनै बलियो बनाएको बताए ।

अध्यक्ष यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरूसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा बजेट पारित नहुने बताएका छन् । उनले सरकारले बजेट सच्याएर ल्याएपछि मात्रै बजेट संसदबाट पास हुने बताए ।

“अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा रहेका दलहरूसँग छलफल नै नगरीकन यो बजेट ल्याइएको छ । बजेटले पूरै मधेस लगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ । त्यसकारणले यसलाई सच्याउनुपर्छ भनेर सुधार गर्नुपर्छ भनेर हामीले भनेका छौँ ।” उनले भने, “नसच्याइ बजेट पास हुन कठिन छ । त्यसकारण सच्याउनु पर्छ । हाम्रो पार्टी यो बजेटमा न्यायोचित वितरण भएन, देशमा चालु रहेका योजनालाई समेत अवरोध हुनेगरी जुन ल्याइएको छ । यसलाई सुधार्नुपर्छ, सच्याउनुपर्छ । बजेट अब सच्चिएर अघि बढ्छ ।”

अध्यक्ष यादवले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई व्यवहारमा कार्यान्वयन गर्ने बेला आएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !