१२ आश्विन २०८१, शनिबार

लागुऔषधको प्रयोग नेपालमा समस्याको रूपमा देखा पर्दै आएको छः मन्त्री श्रेष्ठ

प्रकाशित मिति :  26 June, 2023 11:28 am


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रूपमा देखा पर्दै आएको बताएका छन् । मन्त्री श्रेष्ठले गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन लगायत तोकिएका नियन्त्रित पदार्थ लागुऔषधका रूपमा प्रयोग गर्ने गरिएको पाइएको बताएका हुन् ।

सोमवार लागुऔषध दुरुपयोग गतथा अवैध ओसारपसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लागुऔषधका प्रयोग कर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक अवस्था रहेको बताए ।

नेपालमा लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको तथ्यांकले देखाएको उनले जानकारी दिए ।

उनले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुव्र्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुने बताए ।

लागुऔषध दुरुपयोगविरुद्धको ऐक्यबद्धता, व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता भन्ने नाराकासाथ यस वर्षको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सो अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत कार्यक्रममा उपस्थित विद्यार्थीहरूले जनचेतना कार्यक्रम प्रस्तुति गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !