१२ आश्विन २०८१, शनिबार

नेपाली सेनाको संख्या कटौती गर्न हुँदैन : रक्षामन्त्री खड्का

प्रकाशित मिति :  26 June, 2023 12:52 pm


काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त नहुने बताएका छन् ।

बजेटमाथिको छलफलका क्रममा सेनाको संख्या घटाउनुपर्ने आवाज उठिरहेका बेला रक्षामन्त्री खड्काले यसको प्रतिवाद गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा रक्षामन्त्री खड्काले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको संख्या कायमै राखेर अघि बढन सान्दर्भिक हुने बताए ।

उनले नेपाली सेना संविधानप्रति प्रतिवद्ध संगठन भएको र यसले आफ्नो जिम्मेवारी सोही अनुसार निर्वाह गरिरहेको पनि स्पष्ट पारे ।

रक्षामन्त्री खड्काले भने,“संविधानप्रति प्रतिवद्ध एक नेपाली सेनाको संगठन रहने हाम्रो संवैधानिक व्यवस्था र प्रावधान रहेको व्यहोरा माननीय सदस्यहरुलाई अवगत नै छ । त्यसैले हाम्रो नेपाली सेनाको संख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु ।”

विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौति तथा खतराहरूको सामना गर्नु परिरहेको भन्दै मन्त्री खड्काले वाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतंकवाद, आर्थिक संकट, महामारी लगायतका सुरक्षा चुनौतिहरूले मानव जीवनमानै कठिनाई निम्त्याइरहेको स्मरण गराए ।

उपप्रधानमन्त्री खड्काले विश्वमा बढ्दो सुरक्षा चुनौतिलाई सामना गर्नेगरी नेपाली सेनाको संगठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस !