१२ आश्विन २०८१, शनिबार

आगामी दुई वर्ष भित्र सबै नेपालीको पहुँचमा विद्युत पुग्छ : ऊर्जामन्त्री बस्नेत

प्रकाशित मिति :  26 June, 2023 7:28 pm


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्ष भित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्‍याउने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बस्नेतले हालसम्म ९६ प्रतिशत नेपालीहरूको पहुँचमा विद्युत पुगेको उल्लेख गर्दै आगामी २ वर्ष भित्रै सबैले भरपर्दो र गुणस्तरीय विद्युत सेवा पाउनेगरी योजना बनाइएको र त्यसलाई कार्यान्वयनमा लगिने बताए ।

उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका आगामी दुई वर्ष भित्र विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेका दाबी समेत गरे ।

मन्त्री बस्नेतले विद्युत खपतका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउने र खाना पकाउने एलपी ग्यासको परनिर्भरता घटाउँदै लैजाने सरकारले नीति रहेको स्पष्ट पारे ।

उनले भने,“देशमा हालसम्म विद्युत उत्पादनको जडित क्षमता यस आवमा ४६२ मेघावाटले थप भई २७३२ मेघावाट पुगेको छ । र, ९६ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको आजको अवस्था हो । आगामी २ वर्ष भित्रमा सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने गरी तयार गरिएको योजनालाई कार्यान्वयन गरिनेछ ।”

मन्त्री बस्नेतले मुलुकलाई आत्मनिर्भर हुने गरी विद्युतको उत्पादन र बजारीकरणको कामलाई सरकारले प्राथमिकता दिएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !