१२ आश्विन २०८१, शनिबार

‘विदेशी दुधलाई नेपालमा भित्राउन दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय भयो’

प्रकाशित मिति :  27 June, 2023 2:07 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

विदेशी दुधलाई नेपालमा भित्र्याउने, नेपालका उद्योगहरुलाई समाप्त गर्ने र नेपाली किसानहरूलाई अझ बढि गरिब बनाउने राष्ट्रको हित विपरीत सरकारले बजेट वक्तव्यमार्फत् गरेको सो निर्णय तत्काल खारेज गर्नुपर्ने सांसद बस्नेतको भनाई थियो ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद बस्नेतले राष्ट्रको अहितमा आएको सो प्रस्ताव मान्य नहुने चेतावनी समेत दिए ।

उनले बजेट वक्तव्यमा बाँकेस्थित कपास विकास समितिलाई पनि खारेज गरेर त्यहाँको जमिन निश्चित् राजनीतिक दलका कार्यकर्तालाई आश्रयस्थल बनाउन खोजिएको भन्दै सो निर्णय पनि सरकारले फिर्ता लिनुपर्ने बताए ।

उनले भने,“दुग्ध विकास बोर्डलाई पनि खारेज गर्ने भनेर सरकारले प्रस्ताव गरेको छ । करिब ३० लाख दुध किसानहरू, ६ सय दुग्ध उद्योग, १८ सय सहकारी र दैनिक एक करोड उपभोक्ताको बीचमा सेवा गरिराखेको दुग्ध विकास बोर्डलाई खारेज गर्नुपर्ने आवश्यक्ता किन रह्यो रु यो प्रस्ताव किसान बिरोधी छ । यो राष्ट्रको अहितमा गरिएको प्रस्ताव हो ।”

उनले विदेशी दुधलाई नेपालमा भित्र्याउने, नेपालका उद्योगहरूलाई समाप्त गर्ने र नेपाली किसानहरूलाई अझ बढि गरिब बनाउने दिशातर्फ यो प्रस्ताव अगाडि आएको सांसद बस्नेतले टिप्पणी गरे ।

उनले भने,“ त्यसैले यो राष्ट्रको हित विपरीत आएको प्रस्तावलाई जसरी निर्वाचन आयोग खारेजी गर्ने प्रस्तावलाई फिर्ता लिनु भयो त्यसरी नै यो सरकारले यो प्रस्ताव पनि फिर्ता लिनुपर्छ भन्ने कुरा म यो सम्मानित सदन समक्ष प्रस्तुत गर्न चाहन्छु ।”

सांसद बस्नेतले नाफामा जाँदै गरेको कपास विकास समितिजस्ता स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा त्यसलाई खारेज गर्ने निर्णय गरेर सरकारले गल्ती गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !