२० असार २०८१, बुधबार

कोरोना :अमेरीकामा मृत्यु हुनेको संख्या ४१ हजार माथी, चीनमा अनुसन्धानकर्ता पठाउन चाहेको ट्रम्पको भनाई

प्रकाशित मिति :  20 April, 2020 9:05 am


एजेन्सी,८ वैशाख ।

अमेरीकामा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार ४१ हजार ३ सय ७९ जनाको मृत्यु भएको अमेरीकी समाचार संस्था सीएनएनले जनाएको छ ।

संक्रमितको संख्या ७ लाख ४६ हजार ३ सय ७९ पुगेको छ । यसअघि सबैभन्दा बढी प्रभावित भएको इटलीभन्दा अमेरीकामा मृतकको संख्या झण्डै दोब्बर नजिक पुगेको छ ।

इटलीमा अहिलेसम्म २३ हजार ६ सय ६० जनाको ज्यान गएको छ भने संक्रमितको संख्या १ लाख ७८ हजार ९ सय ७२ पुगेको छ ।
स्पेनमा २० हजार ४ सय ५३ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख ९५ हजार ९ सय ४४ पुगेको छ ।

कोरोनाबाट सबैभन्दा प्रभावित चौथो देश फ्रान्स हो । फ्रान्समा अहिलेसम्म १९ हजार ७ सय १८ जनाको ज्यान गईसकेको छ भने १ लाख ५१ ह्जार ७ सय ९३ जना संक्रमित बनेका छन् ।

अमेरीका,स्पेन,इटली र फ्रान्समा मात्रै गरेर १ लाख भन्दा धेरैको ज्यान गएको छ । छिमेकी मुलुक भारतमा ५ सय ५९ जनाको ज्यान गइसकेको छ भने संक्रमितो संख्या १७ हजार ६ सय १५ पुगेको छ ।

यसैबीच पछिल्लो समय टर्कीमा कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएको देखिएको छ । अहिलेसम्म टर्कीमा २ हजार १७ जनाको मृत्यु भएको छ भने ८६ हजार ३ सय ६ जना संक्रमित भेटिएका छन् ।

तर पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ७७ संक्रमित भेटिएपछि टर्कीमा जोखिम तिब्र बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चीनमा अनुसन्धानकर्ता पठाउन चाहन्छन् ट्रम्प

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणबारे वास्तविकता पत्ता लगाउन अनुसन्धानकर्ताहरु चीन पाठाउन चाहेको बताएका छन् ।

चीनले कोरोना भाइरस संक्रमणको वास्तविकता लुकाएको आरोप लगाईरहेको अमेरीकाले यसको बास्तविकता जान्न विज्ञ टोली पठाउन चाहेको दोहोराएको छ ।

यसअघि पनि यसको वास्तविकता बाहिर आउनुपनुपर्ने माग अमेरीकाले राखिसकेको छ । नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने,‘ हामीले चीनसँग कुरा गरिरहेका छौं । हामीले पहिले पनि जे भइरहेको छ त्यसबारे जान्न चाहेको कुरा गरेका थियौं । हामी यसको वास्तविकता जान्न चाहन्छौं ।’

अमेरीकाले विश्व स्वास्थ्य संगठनलाई समेत चीनबाट फैलिएको कोरोना भाइरसबारे वास्तविकता नबताएको आरोप लगाउँदै अनुदान सहयोग रोक्ने घोषणा गरिसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६५ हजार २ सय २७ र संक्रमितको संख्या २४ लाख ३९ हजार ६३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !