शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्नुपर्छ : शिक्षामन्त्री राई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले सो आवश्यकता औंल्याएका हुन् ।
मन्त्री राईले शिक्षा क्षेत्रको सुधारका लागि उपलब्ध बजेटको उच्चतम उपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सबलीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको दाबी समेत गरे ।
उनले भने, “सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यवहारिक शिक्षाको प्रत्याभूति नगरी देशका लागि आवश्यक जनशक्ति आपूर्ति हुन सक्दैन । विद्यालय शिक्षालाई गुणस्तरीय बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सबलीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा मन्त्रालय प्राथमिकताका साथ लागि रहेको छ । शैक्षिक सुधारका लागि उपलब्ध बजेटको उच्चतम उपयोग गर्ने प्रयास गरिनेछ । शिक्षा सुधारका लागि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।”
मन्त्री राईले सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यवहारिक शिक्षाको प्रत्याभूति गराउने कुरालाई सरकारले विशेष प्राथमिकता दिएको समेत बताए ।