१२ आश्विन २०८१, शनिबार

गुरु कुट्नेको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक छ : अध्यक्ष ओली

प्रकाशित मिति :  29 June, 2023 11:13 am


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरूको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको टिप्पणी गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा बोल्दै अध्यक्ष ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताए ।

उनले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको भन्दै देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा भएको बताए ।

कथित विद्यार्थीले आफ्नो तिरको होइन कुट्न पाउनुपर्छ भन्ने संस्कृतिको विकास गर्न सरकार उद्धत भएको अध्यक्ष ओलीको आरोप थियो ।

उनले भने,“ आजकाल गुरु कुट्ने संस्कृति छ । बडा दुखद् कुरा हो यो । हाम्रो देश जस्तो एउटा सभ्यताको जग, सभ्यता शुरु गर्ने देश, सभ्यताको दियो बाल्ने देश, यस्तो देश गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ ।”

अध्यक्ष ओलीले प्राध्यापक कुट्नेहरूलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताए ।

उनले भने,“प्रोफेसर कुट्न किन विद्यार्थीले नपाउने, मजाले पाउँछ भनेर कुट्छ, गुरु हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार । त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन्, विद्यार्थी होइनन् । बाहिर सडकका हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस !