१२ आश्विन २०८१, शनिबार

विपद् सहयोगको नाममा उपस्थिति जनाउने होडबाजी नगर्न सरकारको आग्रह

प्रकाशित मिति :  29 June, 2023 4:08 pm


काठमाडौँ । सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गर्नुका साथै विपद् प्रतिकार्यमा खटिने नाममा आसामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ ।

बिहीबारबाट सुरु भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरूसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरू रोक्न जरुरी रहेको बताएका हुन् । भट्टराईले भने, ‘विपद्का बेलामा उद्धारका लागि जाने भनेर उपस्थिति दर्ज गराउने होडबाजी बढी देखिएको छ । यसलाई रोक्नुपर्छ ।’

गृहसचिव भट्टराईले विपद् रोकथामका कार्यमा राज्य एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरूसँग समन्वय गरी राहत र उद्धार कार्यमा खटिनु आवश्यक रहेको बताए ।

उनले भने, ‘गृह मन्त्रालय तीन वटा विपद्का मुख्य चरणहरू, विपद् पूर्वको पूर्वतयारीको चरण, गृह मन्त्रालय त्यसमा धेरै सहभागी नभए पनि काम मन्त्रालयको निर्देशनमा नै रहेर भइरहेको हुन्छ । तर हामी सम्बन्धित साझेदार निकायसँग, सम्बन्धित मन्त्रालयसँग र अरू हिसाबले जनचेतना निर्माण गर्ने निकाय यसमा संलग्न हुन्छन् । विपद्को तत्कालीन राहत, उद्धार बाहेकको पछिको दीर्घकालीन पुनर्निर्माण, पुनः एकीकरणको विषयमा पनि गृह मन्त्रालयले भूमिका निभाइरहेको हुन्छ । मन्त्रालय र मन्त्रालय मातहतका निकायसँग मन्त्रालयले कार्ययोजना बनाएर विपद् जोखिम न्यूनीकरण तथा पुनः निर्माण प्राधिकरणबाट ७७ वटै जिल्लाका स्थानीय प्रशासन र अरू निकाय योसँग सरोकार राख्ने गैरसरकारी निकायहरूको सहयोगमा हामीले उपलब्धि हासिल गरिरहेका छौँ । यो साझा प्रयत्नबाट भएको हो । हामीले अझै यसमा सुधार गर्नुपर्छ, अनुसन्धानमा हामीले थप अनुसन्धानको आवश्यकता पर्छ । विपद् रोकथामका कार्यमा राज्य मात्रैको संलग्नताले पुग्दैन ।’

विपद् व्यवस्थापन कार्यका लागि सरकारको तर्फबाट थप अनुसन्धान गरी रोकथाममा लाग्नुपर्ने भट्टराईले बताए ।



प्रतिक्रिया दिनुहोस !