७ आश्विन २०८१, सोमबार

मल वितरणमा बदमासी भएको कृषि मन्त्रीको दाबी,राष्ट्रिय योजना आयोगप्रति असन्तुष्ट

प्रकाशित मिति :  30 June, 2023 1:04 pm


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले मल वितरणमा बदमासी भएको बताएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाईं महोत्सवमा सहभागी कृषि मन्त्री भुसालले अहिले मलको अभाव नभए पनि वितरणमा वदमासी भएको दाबी गरेका हुन् ।

उनले सरकारसँग अहिले पनि ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको जथानकारी दिए ।

उनले भने,“दाबीका साथ भन्छु । अहिले मलको अभाव छैन । राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर मलको अभाव भनेर प्रचार गरियो । अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात छ । मल वितरणमा बदमासी भएको छ । मल वितरणमा बदमासी भएको ठाउँमा कारबाही गर्छु ।”

उनले कतिपय स्थानीय जनप्रतिनिधिले आफूलाई भोट नदिनेलाई मल नदिने भन्दै हिँडेको जानकारीमा आएको बताए । उनले भने,“दाङका मेयरले मलाई भोट हाल्ने भन्दा बाहेकलाई मल नदिने भन्दै हिँडेका छन् । किसान विरोधि अभियान चलाईएको छ ।”

उनले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर प्रचार गरियो बताए । कृषि मन्त्री भुसालले मल वितरणमा बदमासी गर्नेलाई छानबिन गरी कारबाही गर्ने चेतावनी दिए ।

राष्ट्रिय योजना आयोगप्रति असन्तुष्ट

मन्त्री भुसालले योजना अयोगका सदस्यलाई थर्काएका छन् ।

योजना आयोगले पहिला नै सिलिङ ताकेर पठाउँदा बजेटको सिलिङ कतौटी गरेको भन्दै आक्रोश पोखे ।

उनले योजना आयोगका सदस्यले कृषि कार्यक्रममा आएर गुनासो गरेको भन्दै थर्काएका थिए । उनले भने,“योजना आयोगले कृषि क्षेत्रको कार्यक्रममा आएर गुनासो गरेर हुँदैन । काम गर्ने ठाउँमा गर्नुपर्छ । योजना आयोगमा बसेर बजेट नदिने अनि ठूला कुरा गरेर हुन्छ ।”

प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरेपछि कृषि मन्त्रालयको बजेट नघटाउने अवस्था पुगेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !