१२ आश्विन २०८१, शनिबार

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर

प्रकाशित मिति :  30 June, 2023 4:04 pm


काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश श्रीकान्त पौडेल तथा शालिकराम कोइराला र खुशीप्रसाद थारुको विशेष इजलासले खड्कालाई अकुत सम्पति आर्जनमा दोषी ठहर गरेको हो ।

खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकिएको छ ।

उनको नाममा भएको सबै सम्पत्ति जफत गर्न र श्रीमतीको नाममा भएका दुईवटा जग्गा जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।

फैसलामा ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोकिएको छ ।

खड्काले गैरकानूनी रुपमा १८ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल पुस १३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

२०६९ चैत २ देखि निगमको कार्यकारी निर्देशक रहेका खड्काले पदमा बहाल रहँदा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ खर्च तथा लगानी गरेको र उक्त लगानीमा ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले निष्कर्ष निकालेको थियो ।



प्रतिक्रिया दिनुहोस !