१२ आश्विन २०८१, शनिबार

संसद प्रभावकारी बनाउनेगरी भूमिका निर्वाह गर्न राजनीतिक दललाई सभामुखको आग्रह

प्रकाशित मिति :  1 July, 2023 5:45 pm


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद प्रभावकारी बनाउनेगरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीहरूलाई आग्रह गरेका छन् ।

संसद जन अपेक्षा अनुसार चल्न नसकेको आम अनभूति भईरहेको उल्लेख गर्दै उनले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने,“मलाई लाग्छ–संसद प्रभावकारी हुनुपर्छ । यसमा कुनै बहस र विवादको विषय छैन । प्रभावकारी कति हुँदा हुन्छ ? यसको मापो पनि यति हुनुपर्छ भन्ने हुन्न होला । तर जे भएपनि जनअपेक्षा अनुरुपको हुन नसकिरहेको छैन भन्ने आम अनभूतिहरू छ जस्तो मलाई पनि लाग्दछ । यसलाई प्रभावकारी पार्नमा मूलतः राजनीतिक पार्टीहरुको भूमिका प्रभावकारी हुन्छ ।”

६५ औं संसद दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद जनप्रतिनिधिहरूको सर्वोपरी संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा पूर्व संसद क्लवभित्र छलफल गर्न उपयुक्त हुने धारणा समेत राखे ।

राष्ट्र र जनताको आवश्यक्ता अनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने सभामुख घिमिरेको भनाई थियो ।

सभामुख घिमिरेले ऐन, कानुनको निर्माण, त्यसको कार्यान्वयनमा सरकारका अंगहरूलाई क्रियाशील बनाउने काममा पनि पूर्व सांसद क्लवले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !