१२ आश्विन २०८१, शनिबार

शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छः प्रधानमन्त्री

प्रकाशित मिति :  3 July, 2023 11:45 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन् ।

प्रधानमन्त्रीले सोमबार दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको १ सय जन्मजयन्तीको अवसरमा जिपी कोइराला मेमोरियल कलेजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले विश्वका विकसित देशका राजनेताहरुले पनि आफ्नो देशको प्राथमिकताका बारेमा शिक्षालाई लिने गरेको बताए। उनले भने, ‘हामीले शिक्षालाई जुन प्रकारको महत्व दिनुपर्ने हो त्यो नभएको भन्ने कुरामा म सहमत छु ।’

उनले दिवंगत नेता कोइरालालाई सम्झँदै परिपक्व, राजनीति सुझबुझ र दुर्दृष्टि भएका व्यक्तित्वका धनी नेता भएको बताए । कोइरालाको राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको प्रधानमन्त्रीको धारणा थियो ।

प्रधानमन्त्रीले भने, ‘शान्ति, संविधान र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठुलो दायित्व छ । यसका प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला हो ।’

उनले अहिले गणतन्त्रको छोटो समयमा हिजोकै केन्द्रीकृत राजतन्त्र ठीक हो कि भनेर प्रश्न उठाउने कोशिस भइरहेको बताए । उनले भने, ‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प, त्यो दिन जनताको भाव, लाखौँको जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ । हामीले व्यवस्था बदल्न साहस गर्यौं, जनताको अवस्था बदल्न सकेनौं त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ ।’

उनले कोइरालाको चाहनाविपरीत कतिपय निर्णय गर्दा पनि आफूप्रति विश्वास गर्न नछोडेको बताउँदै कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने पनि उल्लेख गरे।

प्रधानमन्त्रीले बिरामी भएर अस्पतालमा मृत्युसँग जुधिराहेका बेला कोइरालाले आफूलाई एक्लै बोलाएर देशको जिम्मा लगाएको स्मरण पनि गरे ।



प्रतिक्रिया दिनुहोस !