१२ आश्विन २०८१, शनिबार

देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँः प्रधानमन्त्री

प्रकाशित मिति :  3 July, 2023 12:12 pm


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएका छन् । 

सोमवार स्व. गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताएका हुन् ।

उनले सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको बताए ।

उनले नयाँ इच्छाशक्ति सहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने देश दुर्घटनामा जाने बताए ।

प्रधानमन्त्रीले भने हामीले आफ्नो आत्मसमीक्षा गरेर फेरि एउटा नयाँ इच्छाशक्ति सहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने, मैले कहिलेकाहीँ भन्ने गर्दछु, हाम्रो भन्दा राम्रो विचार लिएर आउने कोही छ भने, हाम्रो भन्दा धेरै त्याग तपस्या गरेका दलहरु कोही अघि आउने, हाम्रो भन्दा राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने हामीलाई तिनीहरुलाई सम्मान गर्न, तिनीहरुको लागि ठाउँ छोड्दिन केही गाह्रो छैन।

तर अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरु नरहेको प्रधानमन्त्रीकाे भनाइ थियाे । उनले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याँई गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी गरे ।

प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताउनु भयो । 

प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन, मन्त्रीपरिषद्मा छलफल गरी मन्त्रीपरिषद्कै समितिमा पठाइसकेको उल्लेख गर्दै केही दिनभित्र नै संसदमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाए ।

उनले विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकाले त्यसको तयारीमा लाग्ने पनि बताए । उनले गिरिजाप्रसाद कोईराला मेमेरोयिल कलेजलाई विश्वविद्यालय बनाउने काम अघि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरे । 



प्रतिक्रिया दिनुहोस !