१२ आश्विन २०८१, शनिबार

प्रदेश वा संघमा समानुपातिकबाट दुई पटक मात्रै सांसद हुन पाउने प्रस्ताव

प्रकाशित मिति :  3 July, 2023 5:48 pm


काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक मात्रै निर्वाचित हुन पाउने प्रस्ताव गरेको छ ।

निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा प्रतिनिधि र प्रदेश सभामा समानुपातिकबाट दुई पटक निर्वाचित भईसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने प्रस्ताव गरेको हो ।

‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ गृह मन्त्रालय मार्फत संसदमा पेश गर्ने निर्णय गरेको आयोगले संघीय संसद, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचन बाहेक त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने प्रस्ताव समेत गरेको छ ।

विधेयकको मस्यौदामा कुनै एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यस्तो दलको सदस्य पद त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन नसक्ने समेत उल्लेख छ ।

त्यस्तै राष्ट्रपति वा उपराष्ट्रपति, संघीय संसद, प्रदेश सभा सदस्य र स्थानीय तहको सदस्य पदको निर्वाचनमा निर्वाचित कुनै व्यक्तिको अयोग्यता सम्बन्धमा उजुरी परेमा सम्बन्धित अदालतले त्यस्तो मुद्दा छ महिनाभित्र कारवाही र किनारा गर्नु पर्ने समेत व्यवस्था गरिएको छ ।

प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारी दिँदा कम्तीमा तेत्तीस प्रतिशत महिला उम्मेदवार दिनु पर्ने मस्यौदामा व्यवस्था गरिएको आयोगले जनाएको छ ।

स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुख मध्ये कम्तीमा एक जना महिला उम्मेदवार हुनु पर्ने उल्लेख छ ।

मस्यौदामा ‘एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवार दिनु पर्ने एवम् वडा अध्यक्षको पदमा उम्मेदवारी दिँदा सम्बन्धित स्थानीय तहका सम्पूर्ण वडा अध्यक्ष मध्ये कम्तीमा तेत्तीस प्रतिशत महिला उम्मेदवार दिनु पर्ने’ भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !