७ आश्विन २०८१, सोमबार

भेटेरिनरी पब्लिक हेल्थ एशोसियसन दर्ता, सेप्टेम्बरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

प्रकाशित मिति :  6 July, 2023 3:27 pm


काठमाडौं । भेटेरिनरी पब्लिक हेल्थ एशोसियसन नेपाल (भिपिएचएएन) विविधवत् रूपमा दर्ता भएको छ ।

नेपाल भेटेरिनरी एशोसियसन (एनभिए) को भातृ संगठनका रूपमा काम गर्दै आएको एसोसिएसन जिल्ला प्रशासनमा दर्ता भएको हो ।

एसोसिएसनका अध्यक्ष डा.मुकुल उपाध्यायले बुधबार आफ्नो संगठन विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएको जानकारी दिए ।

एनभिएको विधानमा भातृ संगठनको रूपमा दर्ता भएर विषयगत समाज गठन गर्न सकिने र त्यसका लागि कुल सदस्यको तीन प्रतिशतले केन्द्रीय कार्यसमितिमा निवेदन दिनुपर्ने प्रावधान छ । विधानको सोही व्यवस्थाबमोजिम एशोसियसन दर्ता भएको हो ।

एनभिए विधानको सोही प्रावधानबमोजिम नेपाल भेटेरिनरी प्राक्टिक्सनर एशोसियसन (भिपान) क्रियाशील छ ।

भेटेरिनरी चिकित्सकको छाता संगठन एनभिएको भातृ संगठनका रूपमा रहेको एसोसिएसनको उपाध्यक्षको भूमिकामा डा.सुजन राना छिन् । महासचिव, सचिव र कोषाध्यक्षको जिम्मेवारी क्रमशः डा.सुरेन्द्र कार्की, डा.चन्दा श्रेष्ठ र डा.आनन्दकुमार सिंह छन् । डा.नवीन पौडेल, डा.शिखा रिमाल, डा.सुरज सुवेदी र डा.तपेन्द्रप्रसाद बोहोरा सदस्य हुन् ।

भेटेरिनरी क्षेत्रमा पब्लिक हेल्थको महत्त्व र भूमिकाबारे जागरुक गर्न गठित एसोसिएसनले आउँदो सेप्टेम्बर २९ र ३० मा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ ।

भेटेरिनरी जनस्वास्थ्यसम्बन्धी उक्त सम्मेलनमा भारतलगायत मुलुकका प्रतिनिधिको सहभागिता रहने अध्यक्ष डा. उपाध्यायले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !