१३ आश्विन २०८१, आइतबार

संसदलाई प्रमुख तीन राजनीतिक दलहरूले सिन्डिकेट लगाए : सभापति लामिछाने

प्रकाशित मिति :  9 July, 2023 7:06 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरूले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग आज कुराकानी गर्दै सभापति लामिछानेले संसदलाई काँग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका हुन् ।

उनले तीन राजनीतिक दलहरूका बीचमा सल्लाह मिल्दा संसद चल्ने र सल्लाह नमिल्दा संसद नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गरे । दलहरूले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरूले नसहने बताए ।

उनले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गरे । सभापति लामिछानेले भने,“सदन तीन नेताको होइन । सदन प्रतिपक्षको हो अझ बढी । सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ । उहाँहरुको सल्लाह मिल्यो भने संसद चल्ने भयो । नमिल्दाखेरी संसद नचल्ने भयो ।”

उनले आफूहरू मिटरब्याज पीडितहरूको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताए ।

आफूहरु मिटरब्याज पीडितको लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उनले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको बताए ।

आफूहरू संसद सञ्चालन होस् र प्रधानमन्त्रीले संसदबाट जवाफ दिनुपर्ने पक्षमा रहेको सभापति लामिछानेको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !