१३ आश्विन २०८१, आइतबार

दुर्घटनाग्रस्त हेलिकप्टरको अध्ययनका लागि छानबिन समिति बनाइने

प्रकाशित मिति :  11 July, 2023 4:20 pm


काठमाडाैँ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । 

मंगलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले बुधवारसम्म छाविन समिति बनाएर अध्ययन गर्ने बताएका हुन्।

मंगलवार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको बताइएको छ ।

मन्त्री किराँतीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने जानकारी गराए । उनले सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताए।

उनले भने, “हामीले डे वान देखि नै सेफ्टी फस्र्ट भनेर यही नारा उच्चारण गरेका छौँ । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फस्र्ट भनेका छौँ, हाम्रो पहिलो शर्त सुरक्षा हो । हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ । अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ । भोलिसम्ममा गठन हुन्छ ।”

सञ्चारकर्मीहरुको प्रश्नमा फरक प्रसंगमा मन्त्री किराँतीले वर्तमान गठबन्धन सरकार आलोपालो गरेर सम्झौताअनुसार ५ वर्ष नै टिक्ने दाबी गरे। सरकार छोडेर भाग्ने सुविधा कसैलाई नरहेको भनाइ उनकाे छ ।



प्रतिक्रिया दिनुहोस !