७ आश्विन २०८१, सोमबार

‘लम्पी स्किन’ बाट प्रभावित किसानलाई राहत दिन राष्ट्रिय किसान सञ्जालको माग

प्रकाशित मिति :  12 July, 2023 3:23 pm


काठमाडौँ । सरकारले समयमै किसानलाई लम्पी स्किन रोगका बारेमा सेचत नगराउँदा उक्त रोग महामारीको रूपमा फैलिएको अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले बताएका छन् ।

बुधबार राष्ट्रिय किसान सञ्जालले पशुपन्छी विभागमा लम्पी स्किन रोगका कारण पीडित किसानलाई क्षतिपूर्ति दिलाउन दवावमुलक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले रोगको संक्रमणबाट पशुपन्छी जोगाउन पशु सेवा विभाग मातहतका निकाय, प्रदेश र स्थानीय सरकार लगायतले कुनैपनि सचेतनामूलक कार्यक्रम नगर्दा समस्या बढ्दै गएको बताएका हुन् ।

उनले अहिले रोपाईँको चटारो भएको बेला पहाडी क्षेत्रमा यसको तीव्र संक्रमण बढ्दा गोरुबाट जोत्ने र रोपाईँ गर्ने किसान मारामा परेको बताए ।

उनले भने, “पहाडी क्षेत्रमा आजको दिनमा पनि गोरुले रोपाइँ गर्ने भएकाले, गोरुमा यसको संक्रमण हुदाँ आगामी दिनमा धान उत्पादनमा कमि आउने छ । त्यसकारण सरकारले यसबोर गम्भीर भएर अघि बढ्नुपर्छ ।’’

राष्ट्रिय किसान सञ्जालले संक्रमित पशु ओसारपसार बन्द गरियोस्, मलाई खाने पराल,तिमीहरूलाई खाने धान फलाउनु छ, मेरो बोली छैन सम्वेदना छ उपचार छैन, बाच्छु भन्रे हिम्मत छ आमा बन्न मन छ , जगतलाई दुध खुवाउन मन छ, जस्ता नाराका साथ दवावमुलक कार्यक्रम गरेको थिए ।

त्यस्तै राष्ट्रिय किसान सञ्जालले हिजो (मंगलबार) अर्थमन्त्री डा. प्रकाशशरण महत र कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाललाई भेटी लम्पी स्किन रोगको महामारीबाट किसानलाई भएको क्षतिको राहतको माग गर्दै ज्ञापनपत्र बुझाएको अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाले जानकारी दिए ।

पशुसेवा विभागका अनुसार यो महामारीमा सात लाख ५५ हजार ६९१ पशु संक्रमित भइसकेका छन्, जसमध्ये २६ हजार ५५९ पशुको ज्यान गएको छ। संक्रमित चार लाख ९० हजार पशु निको भएका छन्। रोगको संक्रमण नियन्त्रणका लागि सातै वटा प्रदेशमा वितरणका लागि ७ लाख ३७ हजार डोज खोप वितरण भएको र एक लाख ७२ हजार १२८ पशुमा खोप कार्य सम्पन्न भएको पनि सरकारी दाबी छ ।

लम्पी स्किन रोग पहिलो पटक सन् १९२९ मा अफ्रिकी मुलुक जाम्बियामा देखिएको थियो । त्यसपछि यो रोग अन्य देशमा विस्तार भएको थियो । पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । अहिले यो रोगले महामारीको रूप लिएको छ ।



प्रतिक्रिया दिनुहोस !