३ आश्विन २०८१, बिहिबार

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्र्याक्टरको भाडा दर निर्धारण

प्रकाशित मिति :  21 April, 2020 3:21 pm


रुपन्देही, ९ वैशाख ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्र्याक्टरको भाडा दर निर्धारण गरिएको छ ।

यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यका आधारमा समायोजन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले व्यवसायीसमेतको उपस्थितिमा सरोकार पक्षसँग छलफल गरेर नयाँ भाडा दर कायम गरेको वडा नं १३ का वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिए ।

कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसान मर्कामा थिए ।

सर्वपक्षीय छलफलबाट ट्र्याक्टरको कल्टिभेटर जोताइ भाडा प्रतिघण्टा १ हजार २ सय ५० रुपैयाँ र रोटाभेटर जोताइ भाडा प्रतिघण्टा १ हजार ८ सय रुपैयाँ कायम गरिएको हो ।

यस्तै थ्रेसरको भाडा पनि प्रतिघण्टा १ हजार ८ सय रुपैयाँ निर्धारण भएको लुम्बिनी ट्र्याक्टर समितिका अध्यक्ष खेमप्रसाद गौतमले जानकारी दिए ।

अब नगरपालिकाले निर्धारण गरेभन्दा बढी भाडा कसैले लिन पाउने छैनन् ।

तोकिएभन्दा कम भाडा भने लिन सकिने छ । नगरपालिकाले ट्र्याक्टरकोे वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

तिलत्तोमा नागरपालिकाभित्र झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !