कृषि सहकारीले रैथाने उत्पादनकाे बजारीकरणमा सहयाेग गरेनन् : प्रदेश सांसद देवकाेटा
काठमाडौँ । बागमती प्रदेशका सांसद दिनेशचन्द्र देवकोटाले कृषि सहकारीहरूले रैथाने उत्पादनको बजारीकरणमा सहज भूमिका निर्वाह नगरेको बताएका छन् ।
‘गाउँको उत्पादन शहरमा, रैथाने खाना घरघरमा’ भन्रेका नारा सहित रैथाने एग्राे प्रडक्टस नेपालले आयोजना गरेको रैथाने कृषि हाटबजार शुभारम्भ कार्यक्रममा बोल्दै सांसद देवकोटाले गाउँमा उत्पादन भएको रैथाने बालीको सहज बजारीकरण गर्ने उद्देश्यले खुलिएका कृषि सहकारीहरूले गल्त बाटो लिदाँ रैथाने उपजहरू संकटमा परेको बताएका हुन् ।
उनले स्थानीय सरकारले रैथाने उत्पादनलाई प्रथामिकता दिनको लागि प्रत्येक पालिकाको अगाडि रैथाने हाटबजार राखेर किसानको उत्पादनलाई सहज बजारीकरण गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
देवकोटाले उत्पादित कृषि उपजहरूको दिगो, भरपर्दो अनि विश्वासिलो बजारीकरण संयन्त्र नहुँदा उत्पादक किसानहरू मारेमा परेको बताएका छन् । उनले भने, “देशभर बहुराष्ट्रिय कम्पनीहरूले एकछत्र बिउ वितरण गरेर यहाँका पूराना रैथाने उपजकाे संकट भएको अवस्था छ । त्यस्तो अवस्थाको अन्त्य गरेर हरेक स्थानीय तहले रैथाने बिउहरू किसानलाई उपल्बध गराउनुपर्छ ।’’
राष्ट्रिय जीन बैंकका प्रमुख तथा बाली वैज्ञानिक डा। बालकृष्ण जोशीले आयातित गरिएका बिउको प्रयोग बढेपछि नेपालका परम्परागत र रैथाने बाली संकटमा पर्न थालेका बताएका छन् । । उनका अनुसार नेपालमा हाल खेतीपातीमा प्रयोग हुने बिउ मध्ये झन्डै ९५ प्रतिशत हिस्सा आयातित बिउले ओगटेको छ ।
आयातित बिउलाई प्राथमिकता दिनु तथा आर्थिक र दक्ष जनशक्ति अभाव हुनु लगायत कारणले रैथाने बाली संकट परेको जोशीको भनाइ छ । “सबैको मानसिकतामा के सेट भयो भन्दा उत्पादन बढाउनुपर्छ, उत्पादन बढाउनलाई विकासे जात भनेर परिभाषित गरिएको छ,” उनले भने, “विकासे जात चाहिन्छ भन्यो अनि रैथाने बालीलाई प्रथामिकता दिईएन । जसकारणले रैथाने जात करिब ५० प्रतिशत हराएको छ, बाँकी रहेका अधिकांश संकटमा छ ।’
त्यस्तै रैथाने एग्राे प्रडक्टस नेपालका अध्यक्ष तिलक ढकालले रैथाने तथा स्थानीय कृषि उपजको बजार व्यवस्थापनमार्फत किसान र उपभोक्तालाई सिधै जोड्न हाटबजारको मुख्य उद्देश्य रहेको बताएका छन् ।
उनले यस कृषि हाट बजारबाट किसानको खेत बारी, घर गोठदेखि उपभोक्ताको भान्सासम्म रैथाने तथा स्थानीय कृषि उत्पादन र सामग्रीहरू पुग्ने हुदाँ स्वच्छ वातावरण, स्वस्थ्य जीवन बनाउने अभियानमा मद्दत पुग्ने अपेक्षा रहेको बताए ।