१३ आश्विन २०८१, आइतबार

हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर आजदेखि कार्यान्वयन

प्रकाशित मिति :  17 July, 2023 12:23 pm


काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८०\०८१ सुरु भएसँगै आजदेखि हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आएको छ ।

सरकारको निर्णयअनुसार आन्तरिक राजस्व विभागले आजदेखि हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर लागु गरेको हो । योसँगै ट्राभल एजेन्सीहरूको वैदेशिक भ्रमण प्याकेजमा पनि ५ प्रतिशत कर लाग्ने नयाँ व्यवस्था कार्यान्वयनमा आएको छ ।

विभागले सूचना जारी गर्दै हवाई यातायात सेवामा आर्थिक वर्ष ऐन, २०८० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकोले कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नुपर्ने उल्लेख गरेको छ ।

मूल्य अभिवृद्धि करमा दर्ताको लागि हवाई सेवा यातायात प्रदायकले दरखास्त दिनु पर्नेछ भने विदेशी हवाई यातायात सेवा प्रदायकले सम्बन्धित निकायबाट जारी भएको सञ्चालन अनुमति पत्रको प्रतिलिपिसमेत बुझाउनु पर्नेछ ।

विभागकाअनुसार आन्तरिक हवाई सेवा प्रदायकले प्रदान गर्ने सेवाको हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नु पर्नेछ । अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्य स्थानसम्मको हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर लाग्नेछ ।

त्यस्तो अन्तर्राष्ट्रिय उडानको हवाई टिकट नेपालभित्र वा नेपाल बाहिर जँहासुकैबाट जुनसुकै माध्यम (अनलाइन माध्यमसमेत) बाट जारी वा खरिद गरे पनि हवाई यातायात सेवा प्रदायक (एयरलाइन्स कम्पनी) ले सो हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नु पर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !