७ आश्विन २०८१, सोमबार

गरिबी निवारणका लागि अनुदानमा मौरीका घार वितरण

प्रकाशित मिति :  17 July, 2023 1:52 pm


स्याङ्जा । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत स्याङ्जा जिल्ला भीरकोट नगरपालिका किसानहरूलाई मौरीका घार वितरण गरिएको छ।

मेड्पाको प्रविधी हस्तान्तरण कार्यक्रम अन्तर्गत वडा नम्बर ६ र ७ का किसानहरूलाई २८ वटा मौरीका घार अनुदानमा वितरण गरिएको मेड्पाका उद्यम विकास सहजकर्ता गोमा तिवारी भण्डारीले जानकारी दिइन।

वडा नम्बर ६ र ७ को कोलडाँडामा गठित खिलुङ कालिका मौरी पालन समुहमा आवद्ध कृषकहरूलाई ८० प्रतिशत अनुदानमा मौरीका घार वितरण गरिएको मेड्पा कार्यक्रमका फोकल पर्सन एवं योजना अधिकृत याम प्रसाद रेग्मीले जानकारी दिए। २० प्रतिशत रकम तिर्दा किसानले प्रती घार २ हजार रूपैयाँ तिरेका छ्न्।

मौरीका घार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले मह उत्पादन गरि जीविकोपार्जन गर्न सहज होस् भन्ने हेतुले मौरीको घार वितरण गरिएको बताए। नगर प्रमुख कर्माचार्यले पालिकाले प्रदान गरेको तालिममा सिके बमोजिम मौरीपालन गर्न र व्यवसायिक बन्न अनुरोध गरेका थिए।

“भीरकोटको मह” परिचित गराउने गरी मौरीपालन गर्न आग्रह गर्दै उनले रोजगारी सृजना गर्न र किसानलाई व्यवसायिक बनाउन समुदायको माग र आवश्यकता अनुसार अन्य तालिम पनि दिइने बताए। उनले गृहणीहरूलाई विप्रेषणको बचत र सदुपयोग गर्न र उत्पादन कार्यमा सहभागी भै घरखर्च जुटाउन समेत अनुरोध गरेका छन्।

वडा नम्बर ७ का अध्यक्ष तारा प्रसाद अर्यालले कृषि अनुदानको सहि सदुपयोग गर्न अनुरोध गर्दै मौरीका घारको सदुपयोग गरी जीवनस्तर उकासिने तरिकाले व्यवसायिक बन्न अनुरोध गरेका थिए। कृषि अनुदान दुरुपयोग गर्नेलाई वडाले कानुनबमोजिम कारबाही गर्ने र अन्य सेवा सुविधाबाट बञ्चित गरिने बताए। वडा अध्यक्ष अर्यालले वडाले कृषिलाई प्राथमिकता दिएको र यस आर्थिक वर्षमा १४ हजार सुन्तलाका बिरुवा रोपिएको बताए।



प्रतिक्रिया दिनुहोस !