१३ आश्विन २०८१, आइतबार

श्रद्धाञ्जली सभामा प्रधानमन्त्रीले भने: सीताले मृत्युपनि निकै शान्त रोजिन्

प्रकाशित मिति :  18 July, 2023 1:23 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी स्वर्गिय सीता दाहालको स्मरणमा श्रद्धाञ्जली सभा गरिएको छ । गत असार २७ गते स्वर्गारोहण भएकी स्व.दाहालको स्मरणमा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा श्रद्धाञ्जली सभा गरिएको हो ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो जीवनसंगिनीको उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिए । उनले दाहालको उपचार राज्यबाट कुनै सुविधा नलिइकन सबै खालको उपचार पद्धतीबाट गरिएको स्मरण गरे ।

‘उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो,’ प्रधानमन्त्री दाहालले भने ‘अन्तिम अवस्थामा अस्पतालको आइसियु वा भेन्टीलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने हामीलाई चिन्ता थियो । तर बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्युपनि निकै शान्त रोजिन् । साढे ७ बजे हामीले हस्पिटल लगेको झन्डै ८ः३० बजे उनी हामी सबैबाट बिदा भइन्।’

प्रधानमन्त्रीले पछिल्ला वर्षहरुमा हामीले एक छोरी र छोरासहित दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु स्मरण गर्दै शरिरले साथ दिएसम्म यो पीडामा उनी पनि दृढतापूर्वक उभिएर पीडाको सामना गरिरहेको बताए ।

प्रधानमन्त्री दाहालले अस्पतालदेखि पार्टी कार्यालय र आर्यघाटदेखि बालुवाटारसम्म स्व.सीता दाहालले पाएको सम्मान र श्रद्धाञ्जली उहाँको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको आफूहरुले ठानेको उल्लेख गरे ।

यस घडीमा पाएको जनअभिव्यक्ति र जनउभारले आफू र परिवालाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीबोध गराएको बताए।

श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्ययाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु, सांसदहरु, राजदुत तथा कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत शुभेच्छुक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !