७ आश्विन २०८१, सोमबार

स्याङ्जामा फैलियो ‘लम्पी स्किन’को सङ्क्रमण

प्रकाशित मिति :  19 July, 2023 11:42 am


नारायणप्रसाद कोइराला

स्याङ्जा । स्याङ्जा जिल्लाभरि पशु चौपायाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । एघार वटा स्थानीय तह रहेको स्याङ्जाका सबै पालिकाहरूमा यो रोगका सङ्क्रमण फैलिएको हो ।

गाईभैँसीमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुने जस्ता लक्षण देखापर्छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका अनुसार जिल्लामा गाई भैसीको संख्या १ लाख ३ हजार ९ सय ४९ रहेको छ। हालसम्म विज्ञ केन्द्रले ५ हजार ६ सय भाइल खोप ११ वटै पालिकामा संक्रमणको अवस्था हेरेर वितरण गरिसकेको छ भने ३ सय भाइल खोप आकस्मिक अवस्थामा प्रयोग गर्न जिल्लामै राखेको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका निमित्त प्रमुख गोपाल गिरीका अनुसार जिल्लाका ११ वटै पालिकामा लम्पी स्किन रोगको संक्रमण बढीरहेको छ। हालसम्म १ हजार ५ सय १७ गाई भैंसीमा यो रोगको संक्रमण देखिएको छ भने ५७ वटा गाई गोरू र ४ वटा भैंसीको मृत्यु भैसकेको छ। बढ्दो संक्रमण नियन्त्रण गर्न भ्याक्सिनको जरुरत भएपनि बजेट अभावमा खरिद गर्न नसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका निमित्त प्रमुख गिरीले जानकारी दिए।

स्याङ्जाका केही पालिकाले भने लम्पी स्किन रोग नियन्त्रणका लागि आफ्नै स्रोतबाट पनि भ्याक्सिन खरिद गरेका छ्न्। भीरकोट नगरपालिका, वालिङ नगरपालिका, चापाकोट नगरपालिका र आँधिखोला गाउँपालिकाले आफ्नै स्रोतबाट भ्याक्सिन खरिद गरी पशुहरूलाई खोप लगाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका निमित्त प्रमुख गिरीले बताए।

गल्याङ नगरपालिकाले पशु सेवा विज्ञ केन्द्रले उपलब्ध गराएको १ हजार भाइल भ्याक्सिन सहित पशु प्राविधिकहरूलाई किसानको गोठगोठमानै उपचारको लागि खटाएको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिए। आँधिखोला गाउँपालिकाले पनि पशु प्राविधिकहरूलाई निरन्तर फिल्डमा खटाएको छ। पालिकाको वडा नम्बर १,२ र ५ मा संक्रमण अवस्था देखिएको भएपनि रोग नियन्त्रणकै अवस्थामा रहेको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए।

पालिकाले विभिन्न स्रोतबाट ९ सय भाइल खोप जुटाएको र हालसम्म करिब ४ सय ५० पशुहरूलाई खोप दिइएको बताइएको छ। रोपाइँ सकिने बित्तिकै साउन पहिलो हप्तामा गोरूहरूलाई प्राथमिकता दिएर खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए।

स्याङ्जामा गत चैत्र २५ गते पहिलोपटक गल्याङ नगरपालिकामा लम्पी स्किन रोग देखा परेको थियो। अहिलेसम्म गल्याङमा यो रोगका कारण ११ वटा पशु मरेका छ्न् भने रोग नियन्त्रणकै अवस्थामा रहेको पशु सेवा केन्द्र गल्याङका प्रमुख सुशील अर्यालले जानकारी दिए।

कालिगण्डकी गाउँपालिकाको वडा नम्बर २ बाहेक अन्य सबै वडामा लम्पी स्किन रोगको संक्रमण देखिएको छ। अहिले सम्म ३ वटा पशु मरेका छ्न् भने ३८ वटा पशुमा संक्रमण देखिएको छ। निरोधात्मक र उपचारात्मक दुवै पद्धतिका अवलम्बन गरिएकाले रोग नियन्त्रणकै अवस्थामा रहेको पशु सेवा केन्द्र कालिगण्डकीका प्रमुख राजेश पाण्डेले जानकारी दिए।

भीरकोट नगरपालिकामा पनि रोगको संक्रमण नियन्त्रणका लागि पशु प्राविधिकहरू फिल्डमा खटिएका छ्न् । पशु सेवा विज्ञ केन्दले उपलब्ध गराएको ५ सय भाइल र आफ्नै स्रोतबाट खरिद गरेको २ सय भाइल खोप सहित प्राविधिकहरू फिल्डमा खटिएको भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिए। उनका अनुसार व्यवसायिक पशुपालन गरेका फार्महरूमा खोप लगाइसकिएको छ।

यो रोग संक्रमित पशुसंँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, लामखुट्टे, झिंगा, किर्ना, भुसुना आदिको टोकाइबाट सर्ने गर्दछ। यो रोगको ठोस उपचार नभएको हुँदा लक्षण अनुसारको उपचार गर्ने गरिन्छ। पशुलाई भुसुना, लामखुट्टेको टोकाईबाट बचाउन बिहान बेलुका पशु बाध्ने गोठमा सावधानीपूर्वक धुवाँ लगाउने जसले गर्दा पशुलाई लामखुट्टे भुसुनाको टोकाइबाट जोगाउन सकिन्छ। संक्रमित क्षेत्रबाट गाईभैसीको ओसारप्रसार गर्नुहुँदैन।

गोठको वरीपरी पानी जम्न नदिने, ओभानो र सफा सुग्घर राख्ने , बिरामी पशुलाई बथानबाट अलग्गै राख्ने र बिरामी पशुको जुठो अरु निरोगी पशुलाई खान नदिने गरेमा रोगको संक्रमणबाट स्वस्थ्य पशुलाई जोगाउन सकिने पशु प्राविधिकहरूले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !