१३ आश्विन २०८१, आइतबार

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

प्रकाशित मिति :  19 July, 2023 1:37 pm


काठमाडौँ । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाई लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो ।

यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ ।

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भुमिका बारेमा स्पष्ट पारिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए ।

‘डेंगुको जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौं । यो वर्षको कार्ययोजना बनीसकेको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने रु उपचारमा केके गर्ने ? स्थानीय तहको भुमिका के हो ? रेडक्रसको भूमिका के हो रु भन्ने विषय समेटेका छौं’, उनले भने, ‘कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौं । बढी जोखिम भएका ९२ वटा पालिकामा एक्शन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौं । बढी जोखिम भएका ठाउँहरु काठमाडौं ललितपुर,भक्तपुर चितवन र मकवानपुरका सरोकारवालाहरुसंग बसेर कार्यक्रम गरिसकेका छौं । उच्चस्तरीय डेंगु नियन्त्रण कमिटीमापनि छलफल गरेर निर्णयहरु गरेका हौं ।’

डा। मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको बताए । उनले पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको उल्लेख गरे । उनले भने, ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार नौ सय ३० जनामा डेंगु संक्रमण देखिएको छ ।’

मरासिनीले डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय भइरहेको पनि बताए । सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरुको नष्ट गर्नु, घर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको बताए ।

लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताए । अहिलेपनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको उनको भनाइ छ । लामखुट्टेको वृत्तिविकास हुन नदिने वातावरणको सृजना गर्नुपर्ने आवश्यकता औंल्याए ।उनले मनसुन बढेसँगै डेंगुका बिरामीको संख्या बढेको बताए । डा।मरासिनीले डेंगु रोकथाममा सरकार गम्भीर भएर लागेको बताए ।

डेंगु संक्रमणको पछिल्लो अवस्थाबारे कुरा गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले तीन तहकै सरकारबिच समन्वय र सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै डेंगुको संक्रमण थप फैलिनबाट रोक्न सकिने बताएका छन् ।

डेंगु जोखिम शहरी इलाकामा बढी हुने उनकाे भनाइ छ । ‘डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान महत्वपूर्ण मानिन्छ । यो अभियानलाई कार्ययोजना नै बनाएर अघि बढ्नसक्यौं भने त एकदमै राम्रो हुन्छ नै । सर्वसाधारणले पनि जथाभावी ड्रम फाल्ने, लामखुट्टे बस्ने वातावरण सृजना गर्नुभएन । निरन्तर बगिरहने पानीमा लामखुट्टेले वृत्ति विकास गर्न सक्दैन । नेपाल सरकारले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छ । र, सम्भवतः अहिले लार्भा देखिरहेको अवस्था छ । यसलाई हामीले जसरी हुन्छ नष्ट गर्नुपर्छ ।’ उनले भने, ‘डेंगु जोखिम शहरी इलाकामा बढी हुन्छ । मुख्यतः अव्यवस्थीत शहरीकरणले डेंगु जोखिम निम्त्याउँछ । यस्तै ग्यारेजमा फालेका टायरहरु राखिन्छन् ।  फालेका टायरहरु नम्बर वान लामखुट्टेको लागि स्वर्ग जस्तै हो । वृत्ति विकास हुन्छ । र, त्यहाँबाट नै लामखुट्टेहरु तपाइ हाम्रो घरघरमा आइपुग्छ ।’

सामान्यतया डेंगु वर्षा र वर्षापछिको समयमा बढी देखिन्छ । नेपालमा सन् २००४ मा डेंगु संक्रमण पुष्टि भए यता लगातार बढीरहेको छ । गत वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी मानिस डेंगुबाट संक्रमित भएका थिए । डेंगु संक्रमण तराईबाट पहाड हुँदै अहिले हिमालमा पनि केही केसहरु देखिने गरेको बताए।

उनले भने, ‘आगामी वर्षपनि यो जोखिम निरन्तर हुने देखिन्छ । डेंगुको जोखिम गत वर्ष काठमाडौं शहरमा देखिएसँगै यो पटक कुनै नयाँ शहरमा नहोला भन्न सकिन्न । लामखुट्टेले बिस्तारै ठाउँ बिस्तार गर्दैछ । पहिले तराईतिर देखिन्थ्यो । लामखुट्टे बस्ने वातावरण भनेको खाल्डाखुल्डी अव्यवस्थित वातावरण, फालिएको ड्रम, पुराना टायर, घरघरमा गमला राख्ने ठाउँ हो । पानी जम्ने वातावरणमा लामखुट्टे रहन्छ । डेंगु नलाग्नु भनेको डेंगु वस्ने वातावरण नै नष्ट गर्नु हो ।’ डेंगुले केही समययता प्रकोपको रुप लिइरहेको र आगामी वर्ष झनै जोखिम बढ्ने डा.पुनको भनाई छ ।

लामखुट्टेको वृत्ति विकास र यसको प्रसारण, भौगोलिक रुपमा बसाइसराई गर्दै गएर नयाँनयाँ ठाउँमा पुग्यो भने त्यो अझ जटिल अवस्था हुन सक्ने पुनले बताए । डेंगु संक्रमण भइहाले र लक्षण देखिहाले चिकित्सकको परामर्श लिनुपर्ने उनको भनाइ छ । डेंगु संक्रमण भइहाले ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिने उनले बताए ।

डेंगु लागेपछि घरमा बसेर पनि आराम गर्न सकिन्छ । तर चिकित्सक वा अस्पतालमा सम्पर्क गरेपछि रगतको जाँच गर्नुपर्ने हुन्छ । एक हप्तापछि रगतमा देखिने उतारचढाव सुधार भएर जाने गर्छ ।



प्रतिक्रिया दिनुहोस !