१३ आश्विन २०८१, आइतबार

यूएन फोरममा आयोग उपाध्यक्षले भने : कोही पनि नछुट्ने गरी अघि बढौँ

प्रकाशित मिति :  20 July, 2023 12:26 pm


काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले साना तथा मझौला उद्यम व्यवसाय (एसएमइज) मा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघले अमेरिकाको न्यूयोर्कमा आयोजना गरेको उच्च स्तरीय राजनीतिक फोरममा बिहीबार बोल्दै ‘एसएमइज’ मा लगानी गर्नु वित्तीय कारोबार गर्नु मात्रै नभएको बताए ।

नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी)का अध्यक्ष समेत रहेका उपाध्यक्ष श्रेष्ठले एसएमइजमा लगानी गर्नु भनेको अतिकम विकसित मुलुकका लाखौँ व्यक्ति र परिवारको क्षमता विकासका लागि लगानी भएको हुने बताए ।

उच्च स्तरीय फोरममा नेपालको नेतृत्वको गर्दै अमेरिका पुगेका उपाध्यक्षले विभिन्न तीन वटा शत्रमा नेपालका तर्फबाट सम्वोधन गरेका थिए ।

उपाध्यक्ष श्रेष्ठले नेपालले पहाडी पर्यावरणीय संरक्षण पनि हरसम्भव गरिरहेको जानकारी दिएका छन् । एसडिजीलाई सफल बनाउनु पर्ने भन्दै उपाध्यक्ष श्रेष्ठले भनेका छन्, ‘एलडिसी सफल भए एसडिजी सफल हुनेछन् ।’

नेपाली टोली भोलि शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको उक्त प्रतिनिधिमण्डलमा संघीय सांसद तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका सचेतक महेशकुमार बर्तौला र नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अन्य अधिकारी एवम् संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारी सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !