१४ आश्विन २०८१, सोमबार

अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  21 July, 2023 2:54 pm


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।

गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले सो सुन प्रकरणबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको उल्लेख गर्दै उसले नै छानबिनको काम गर्ने र त्यसमा सघाउ पु¥याउनका लागि सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको पनि बताए । उनले आफूले अनुगमनको क्रममा अध्यागमन विभाग र भन्सार विभागको कामबारे सामान्य जानकारी लिएको बताएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “केही दिन अघि हाम्रो त्रिभुवन विमानस्थलको भन्सारको सम्पूर्ण प्रक्रियाहरू पार गरेर अवैधानिक रूपमा रुपमा करिव एक क्वीन्टल सुन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर गएको र राजस्व अनुसन्धान विभागले त्यसलाई नियन्त्रणमा लिएर त्यसमा प्रारम्भिक रूपमा देखिएको केही व्यक्तिहरूलाई अनुसन्धानको प्रक्रिया अघि बढाएको छाैं । त्यस सम्बन्धमा राजस्व अनुसन्धान अन्तरगत एक छानविन समिति पनि बनाइएको छ । र, त्यसले आफ्नो छानविनको प्रक्रियालाई अघि बढाएको छ । यो छानविन र अनुसन्धानको प्रक्रियालाई त्यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनु पर्छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले भन्सार कार्यालयमा चेकजाँचका लागि प्रहरी परिचालन गर्नका लागि छिट्टै सरकारले आवश्यक निर्णय लिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !