१४ आश्विन २०८१, सोमबार

राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी छः मन्त्री शर्मा

प्रकाशित मिति :  21 July, 2023 3:36 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने गरी तयारी भइरहेको बताएकी छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजमार्ग क्षेत्रमा आवागमन गर्ने यात्रुहरूका लागि सूचना सञ्चारको आवश्यकता धेरै हुने भएकाले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने बताएकी हुन ।

राजमार्ग क्षेत्रमा दुर्घटना, गम्भीर बिरामीको आवागमन, जंगली जनावरको आक्रमणलगायतका आकस्मिक घटना हुने भएकाले पनि राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने आवश्यक रहेको मन्त्री शर्माले बताइन् ।

राजमार्ग क्षेत्रमा दैनिक लाखौं यात्रुको आवागमन हुने भएकाले उनीहरूले फोन र इन्टरनेट प्रयोग गर्दा दूरसञ्चारको कारोबार पनि बढी हुने भएकाले व्यापारिक दृष्टिकोणबाट पनि दूरसञ्चार सेवा बढाउनुपर्ने आवश्यकता देखिएको उनले स्पष्ट पारेकी छन् ।

मन्त्री शर्माले चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी गरेको पनि जानकारी दिइन् । सीमा क्षेत्रमा नेपाली नेटवर्कको समस्या देखिएको गुनासो आएकाले आवश्यक अनुगमन गरी सेवा विस्तारका लागि विशेष योजना बनाउन पनि उनले टेलिकम प्रादेशिक निर्देशनालयका अधिकारीहरूलाई आग्रह गरेकी छन् ।

चालु आर्थिक वर्षभित्र सबै वडा तहमा गुणस्तरीय इन्टरनेट सेवा पु¥याउने लक्ष्य लिएको जानकारी दिंदै उनले यसका लागि नेपाल दूर सञ्चार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार कोषको उपयोग गरी सेवा विस्तार गर्नेतर्फ पनि ध्यान दिन टेलिकमलाई आग्रह गरेकी छन् ।

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा ब्यापक सुधार गर्न सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्नेमा जोड दिंदै उनले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कमार्फत सबै क्षेत्रमा सूचना प्रविधिको पहुच विस्तार गर्ने नीति लिएको जानकारी दिइन् । यसका लागि संघ, प्रदेश र स्थानीय तहको सहकार्य आवश्यक रहेकोमा जोड दिंदै मन्त्री शर्माले साइबर सुरक्षा र साइबर सचेतनालाई प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।



प्रतिक्रिया दिनुहोस !