१४ आश्विन २०८१, सोमबार

ट्रायल पास गराइदिन्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ

प्रकाशित मिति :  24 July, 2023 3:00 pm


काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिन्छु भनेर ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

लाइसेन्सको ट्रायल पास गराई दिने भन्दै एक दर्जन भन्दा बढी व्यक्तिलाइृ ठग्ने दुई युवालाई पक्राउ गरेको ललितपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी(१३ एकान्तकुना घर भएका सम्राट, समिर, रागब लगायत नामबाट चिनिने ३० वर्षीय राजु परियार र काठमाडौं(१४ कलंकी सुनारगाउँ घर भएका ३६ वर्षीय ब्रम्ह रिसाल रहेका छन् ।

परियारले आफु यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताई एक दर्जन भन्दा बढी व्यक्तिलाई लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने, प्रदुषण जाँचपास गराई दिने लगायतका काम गरिदिने भन्दै पैसा लिएका थिए ।

उनले ती व्यक्तिहरुबाट नगद चार लाख ३० हजार तथा सुनको गहनासमेत लिएको प्रहरीले जनाएको छ ।

यसैगरी पक्राउ परेका अर्का व्यक्ति रिसालले कृष्ण ज्वेलर्स एण्ड सन्स नाम गरेको गहना पसल सञ्चालन गर्दै आएको र परियारले ल्याएको सुन खरिद गरि गालेर राखेको प्रहरीले जनाएको छ । प्रहरीले परियारलाई साउन ६ गते र रिसाललाई साउन ७ गते पक्राउ गरेको थियो ।

उनीहरुलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !