१४ आश्विन २०८१, सोमबार

मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पूरा हुँदैनः अध्यक्ष ढकाल

प्रकाशित मिति :  25 July, 2023 9:20 am


काठमाडाैँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएका छन्। 

मंगलवार न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा आईतवार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको विषयमा प्रतिक्रिया दिँदै उनले गत वर्षको मौद्रिक नीतिले लिएको कर्जा बिस्तारको लक्ष्य भन्दा पनि अहिले कम गर्नु राम्रो नभएको बताए।

ढकालले गत वर्ष १२.५ प्रतिशत कर्जा बिस्तार गर्ने लक्ष्य भन्दा पनि घटेर चालु आर्थिक वर्षमा ११.५ प्रतिशत कर्जा बिस्तार गर्ने लक्ष्यले अर्थतन्त्र चलायमान र ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न नसकिने दाबी गरे।

उनले निजी क्षेत्रका तीन वटा छाता संस्थाहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रुपमा दिएका सुझावहरुको सम्बोधन नभएको प्रतिक्रिया दिए । ढकालले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा भएपनि निजी क्षेत्रको अपेक्षा अनुसार मौद्रिक नीति नआएको बताए।

“निजी क्षेत्रका तीन वटा छाता संस्थाहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रुपमा सुझावहरु दिएका थियौं, निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा थियो,” उनले भने, “निजी क्षेत्रले दिएका केही सुझावहरु समेट्ने प्रयासहरु गरेको छ । मौद्रिक नीतिमा चालुपुँजी कर्जा मार्ग निर्देशनमा पुनारावलोकन गर्ने भनेको छ तर यस्तो गर्ने भनेर भनेको छैन ।”

अध्यक्ष ढकालले मौद्रिक नीति आएपनि निर्देशनहरु आउन बाँकी रहेको भन्दै निर्देशनमार्फत निजी क्षेत्रले दिएको सुझावहरुलाई अझै समेटेर निर्देशन जारी गर्न माग गरे। उनले निजी क्षेत्रले दिएका सुझावलाई निर्देशनमार्फत सम्बोधन गरे अर्थतन्त्र चलायमान बनाउन सहज हुने बताए। 

ढकालले निजी क्षेत्रले राष्ट्र बैंकलाई नीति बनाउन दिने सुझावहरु मुलुकको अर्थतन्त्र चलायमान र मुलुकमा नै रोजगारी,सिर्जना र राजश्व संकलन बढ्ने गरी दिएको बताए।



प्रतिक्रिया दिनुहोस !