१४ आश्विन २०८१, सोमबार

अवैद्य सुन बरामदको विषयमा सरकारसँग जवाफ माग्ने एमालेको निर्णय

प्रकाशित मिति :  26 July, 2023 2:32 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विमानस्थलमा भन्सार जाँचपास भइसकेको एक क्वीन्टल अवैद्य सुन बरामद प्रकरणलाई लिएर सरकारसँग जवाफ माग्ने भएको छ ।

नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो ।

गठबन्धन सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना सुन पास गराउन असम्भव भएको भन्दै छानबिन समिति बनाउन संसदमा आवाज उठाउने बैठकमा सहभागी एक नेताले बताए ।

उनले भने, ‘सशक्त ढंगले अगाडि बढ्ने, सुन प्रकरणमा गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने, छानबिनको माग गर्ने, जवाफ माग्ने निर्णय भएको छ । सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामाबारे संसद् बैठक सुरु भएपछि कुरा हुन्छ ।’

एमाले नेता रघुजी पन्तले एक क्विन्टल सुन अवैध रुपमा आयात गर्ने कम्पनीले यसअघि पनि पटक(पटक सामान ल्याएको देखिएको उल्लेख गर्दै त्यसबारे पनि छानबिन हुनुुपर्ने बताए ।

उनका अनुसार सरकारले निष्पक्ष अनुसन्धान गरेर उक्त सुन तस्कारीका मालिकलाई समात्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

पन्तले कसले सुन ल्याएको हो दोषी पत्ता लगाउनुपर्ने र कानुनी कारबाही गर्नुपर्ने आफ्नो पार्टीको निर्णय भएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !