१४ आश्विन २०८१, सोमबार

अन्तर मन्त्रालयबीच समन्वय नहुँदा विकास निर्माणमा कठिनाइ भयोः मन्त्री गुरुङ

प्रकाशित मिति :  26 July, 2023 2:46 pm


काठमाडाैँ । शहरी विकासमन्त्री सीता गुरुङले अन्तर मन्त्रालयबिच राम्रो समन्वय हुन नसक्दा विकास निर्माणका काममा कठिनाइ हुने गरेको बताएकी छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै गुरुङले एउटा मन्त्रालयले अघि बढाएको कामलाई अर्को मन्त्रालयले आवश्यक चासो नदेखाउँदा पनि विकास निर्माणमा अवरोध सिर्जना भइरहेको गुनसो गरिन् ।

उनले अन्तर मन्त्रालयबीच समन्वय गर्न र विकास निर्माणमा देखिएका समस्या समाधान गर्न नीतिगत छलफल नै जरुरी देखिएको उल्लेख गरेकी छन् । मन्त्री गुरुङले शहरी विकास मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कन्जुस्याँई नगरी काम अघि बढीरहेको जानकारी दिइन् ।

उनले प्रतिनिधि सभाको पुरानो भवनलाई संसदीय संग्रहालयको रूपमा विकास गर्न पुरानै कला, संस्कृति समेटिने गरी पुनः निर्माण हुने बताएकी छन् । गुरुङले त्यस सम्बन्धी अहिले परामर्शको काम भइरहेको र एक महिना भित्रमा रिपोर्ट आइसकेपछि टेण्डर आह्वान र श्रोत सुनिश्चितता गरी मंसिरबाट काम अघि बढाइने बताइन् ।

समितिको बैठकमा ग्यालरी बैठक (पुरानो प्रतिनिधि सभा भवन) लाई संसदीय संग्रहालयको रूपमा विकास गर्न उक्त भवनलाई प्रवलीकरण प्रविधिद्वारा संरक्षण गर्ने सम्बन्धमा दिइएको निर्देशन कार्यान्वयनको प्रगतिका बारेमा छलफल भएको हो ।

समिति बैठकमा सांसदहरूले सरकारका योजनामा बजेटअनुसारको काम हुन नसकेको गुनासो समेत गरे । सांसदहरूले सरकारले संरचना बनाउने काममा ढिलाइ गर्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !