१४ आश्विन २०८१, सोमबार

सुन तस्करी प्रकरणमा गृहमन्त्रीलाई अनुसन्धानको दायरामा ल्याउन नेकपा एमालेको माग

प्रकाशित मिति :  27 July, 2023 1:41 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता बिना हुन नसक्ने भन्दै अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।

राष्ट्रिय सभाको बैठकमा आज बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका दलका नेता देवेन्द्र दाहालले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै अनुसन्धानको घेरामा आउनुपर्ने बताए ।

दाहालले गृहमन्त्री, अर्थमन्त्रीलाई जानकारी नभइ यति ठूलो परिणामा सुन तस्करी हुनै नसक्ने जिकिर गरे । उनले भने,“सुरक्षा व्यवस्था तोड्दै बाहिर सुन पक्राउ भएपछि सुरक्षा व्यवस्था मैले व्यवस्थित गर्न सकिन भनेर यो सम्मानित सदनलाई सम्बोधन गर्दै राजीनामा दिनुपर्दथ्यो । यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नता बिना हुनसक्ला र ?”

उनले सिंगो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ ? त्यसको जवाफ कसले दिने ? भन्दै प्रश्न गरे ।

नेता दाहालले सुरक्षा व्यवस्थामा खटिएका कर्मचारी, भन्सार कर्मचारी र गृहमन्त्री एवं अर्थमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने बताए ।

सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने र समितिमा राष्ट्रिय सभा सदस्यहरू पनि रहनुपर्ने उनको माग थियो । दाहालले भने,“ यो त अब सम्पूर्ण सुरक्षा र भन्सारमा रहेका कर्मचारी अनुसन्धानमा आउनुपर्छ । सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्छ । त्यसमा राष्ट्रिय सभाका मान्यहरु पनि हुनुपर्छ ।”

दलका नेता दाहालले सुन तस्करीमा उच्च तहको नेतृत्व सामेल भएपनि अनुसन्धानको दायरामा ल्याउन नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !