७ आश्विन २०८१, सोमबार

एक करोड लगानीमा टिकाथलीमा फलफूल तथा तरकारी बजार सञ्चालन

प्रकाशित मिति :  27 July, 2023 5:19 pm


काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ टिकाथलीमा आज (बिहीबार) देखि भाजु फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको हो ।

महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएका तरकारी तथा फलफूहरूलाई नगरपालिकाभित्रै खपत गर्ने गरी करिब १ करोडको लगानीमा भाजु फलफूल तथा तरकारी बजार सञ्चालन ल्याएको भाजु फलफूल तथा तरकारी बजारका सञ्चालक आदिल महर्जनले बताए ।

उनले ३० आना जग्गामा तरकारी बजारको लागि ७० वटा स्टलहरू रहेको जानकारी दिए । उनले साना किसान,साना व्यापारीहरू र उपभोक्ताहरूलाई सहज बनाउनको लागि तरकारी बजार सञ्चालनमा ल्याएको बताए । वैदेशिक रोजगारीमा जाने भन्दा पनि नेपालमा नै केही गरौं भन्ने उद्देश्यले बजार स्थापना गरिएको उक्त बजार अहिले ४० प्रतिशत भन्दा बढी स्टलहरू तरकारी तथा फलफूल पसलको लागि बुक भएको सञ्चालक महर्जनले बताए ।

कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएका तरकारीहरू स्थानीय बजारमा नै बिक्रीवितरण गर्नुपर्ने बताएका छन् ।

महालक्ष्मी नगरपालिकाले डिजिटल ढक तराजु ५० प्रतिशत अनुदानमा दिने गरेको भन्दै भाजु फलफूल तथा तरकारी बजारमा बिक्री गर्ने ६ जनालाई डिजिटल ढक तराजु उपलब्ध गराउने प्रतिबद्धता श्रेष्ठले दिए ।

टिकाथलीमा तरकारी बजार सञ्चालनमा आएसँगै उक्त क्षेत्रका उपभोक्ताहरूले खुशी व्यक्त गरेका छन् । उनीहरूले तरकारी किन्नको लागि दुई किलोमिटर टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।



प्रतिक्रिया दिनुहोस !