१४ आश्विन २०८१, सोमबार

जलवायु परिवर्तनका कारण खानेपानी वितरणमा समस्या भयो : मन्त्री यादव

प्रकाशित मिति :  30 July, 2023 6:06 pm


काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले वातावरणीय प्रभाव र जलवायु परिवर्तनको कारण खानेपानी वितरणमा समस्या आएको बताएका छन् ।

आइतबार खानेपानी मन्त्रालयले खानेपानीका वर्तमान समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपाल पानीको धनी मुलुक भएपनि जलवायु परिवर्तन र वातावरणीय प्रभावले पानीका मुहानहरू सुक्ने थालेकाले प्राप्त खानेपानी वितरणमा चुनौती थपिएको बताए ।

मन्त्री यादवले खानेपानीमा थपिएको समस्या दीर्घकालीन समस्या समाधानको लागि नसोचेर वर्तमान परिस्थितिमा खानेपानीको समस्या समाधान गर्न नसकिने उल्लेख गरे । उनले तराई मधेसमा पानीको सतह घट्दै जानु र पहाडमा पानीका मुलहरू सुक्दै जाने समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उपायको खोजीमा सरकार लागेको बताए ।

मन्त्री यादवले खानोपानी, वन, भौतिक र सिँचाइ मन्त्रालयसहितको राष्ट्रिय खानेपानी समस्या समाधान कमिटी बनाएर समस्याको पहिचान गर्ने र यसको दीर्घकालीन समस्या समाधान गर्ने मुख्य उद्देश्य सरकारको रहेको बताए । उनले बहुवर्षिय योजना बनाएर ठूला खोलाहरूबाट पानी वितरण प्रणालीमा ल्याउन सरकारले अनुसन्धान गरिहरको बताए । उनले तत्काल पानीको मूललाई संरक्षण गर्नको लागि भौगोलिक अवस्थाले पहाड र चुरे क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्री यादवले आवश्यकता भन्दा धेरै पानी खर्च गर्ने पुरानो परम्परालाई छाडेर पानी वितरणलाई व्यवस्थित बनाउनुपर्ने बताए । उनले सुकेको मूललाई संरक्षण गर्न तराईमा पोखरी खन्ने वा चुरे क्षेत्रमा ड्यामहरू बनाएर पानीलाई रिचार्ज गर्नु आवश्यक रहेको बताए । उनले चुरेको विनाशका कारण तराई मधेसमा पानीको सतह कम हुँदै गएको बताए ।



प्रतिक्रिया दिनुहोस !