१४ आश्विन २०८१, सोमबार

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै

प्रकाशित मिति :  1 August, 2023 10:54 am


फाइल फाेटाे।

काठमाडौ । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।

जसअनुसार आज नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन गरिएकोबारे सभामुखले सदनलाई जानकारी गराउने कार्यसूचि रहेको सचिवालयले जनाएको छ ।

यस्तै सचिवालयकाअनुसार आज राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा पढेर सुनाइने छ भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

प्रतिनिधिसभाको बैठक हिजै (सोमबार्) बस्ने तय भए पनि सुन प्रकरणका विषयमा छानविन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अडान नछाडेपछि बैठक बस्न सकेको थिएन ।

यद्यपी आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग फोन वार्ता गरेर उनले सदन सुचारु गराउन आग्रह गरेका थिए ।

सभामुख घिमिरेले आज दिउँसो १२ बजे बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !