१४ आश्विन २०८१, सोमबार

टीआरसीसँग सम्बन्धित विधेयक छिटो भन्दा छिटो पारित गर्नुपर्छ : कांग्रेस

प्रकाशित मिति :  1 August, 2023 6:47 pm


काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति बैठकमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने विषयमा छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता मीनबहादुर विश्वकर्माले वृहत् शान्ति सम्झौतापछि शान्ति प्रक्रियाका टुङ्ग्याउन बाँकी रहेका थुप्रै कामका बारेमा सत्य मेलमिलाप तथा बेपत्ता छानबिन आयोगको ऐन अहिले संशोधनको अवस्थामा रहेकाले चाँडो भन्दा चाँडो पारित गर्ने बारेमा सम्बन्धित समितिमा रहेका सांसद र पदाधिकारीबीच छलफल भएको बताए ।

उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन त्यो ऐन यथाशीघ्र संसद्बाट पारित गर्नुपर्ने जरुरी छ । यति हुँदाहुँदै पनि धेरै विवादित विषयहरू थिए । त्यसमा द्वन्द्वरत पक्ष र द्वन्द्वबाट प्रभावित पक्षहरू, पीडित, पीडकहरूसँगको सहमतिमा वा स्वीकार्यमा विधेयक ल्याउनुपर्छ भनेर फराकिलो छलफल चलिरहेको हो । विगतका संसद्ले पारित गर्न सकेको थिएन । अहिले त्यही प्रयत्न भइरहेकोमा नेपाली कांग्रेसमा विशेषतः शीर्ष नेताहरूले सभापतिसमेत र संसद्मा सम्बन्धित समितिमा काम गर्नु भइरहेका सांसदहरुबीचको आन्तरिक छलफल हो । कहाँ कहाँ अप्ठ्यारा विषय छन्, त्यसलाई कसरी सहज बनाउने र सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐनलाई छिटो भन्दा छिटो पारित गराउने र अरू सम्बन्धित पक्षसँग कसरी सहमति जुटाउने भन्ने बारेमा छलफल भएको हो ।’

नेता विश्वकर्माले संसद्मा भइरहेको अवरोधको विवादित विषयमा सरकारले प्रश्न उठेपछि प्रस्ट्याउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !