१४ आश्विन २०८१, सोमबार

‘काठमाडौँको फोहोर व्यवस्थापनका लागि काठमाडौँवासीलाई प्रशिक्षित गर्नुपर्छ’

प्रकाशित मिति :  2 August, 2023 10:56 am


काठमाडौँ । सरोकारवालाहरूले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि राजधानीवासीलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाव दिएका छन् ।

शहरी विकास मन्त्रालयमा मंगलबार भएको काठमाडौँको फोहोर व्यवस्थापन सम्बन्धी छलफलमा सरोकारवालाहरूले फोहोर घरघरमै छुट्याउनुपर्ने भन्दै नागरिकलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाएका हुन् । प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले फोहोरमैला विसर्जन गरेको ठाउँका जनताले भोगिरहेका समस्या र समाधानका उपायबारे शहरी विकासमन्त्रीसँग छलफल भएको बताए ।

पाण्डेले फोहोरको उचित व्यवस्थापन नहुँदा प्रभावित क्षेत्र ककनी र धुनीबेंशी गाउँपालिकाका नागरिकले वर्षेनी सास्ती भोग्दै आएको बताए । अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड नभई डम्पीङ साइडमा परिणत भएको बताए । उनले स्थायी रुपमा फोहोरको समस्या समाधान हुनुपर्ने धारणा राखे । पाण्डेले काठमाडौँ उपत्यकाका नागरिकलाई दुई तीन महिनासम्म फोहोर व्यवस्थापनबारे प्रशिक्षण दिनुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले देशको सन्तुलित विकासका लागि फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बताए । उनले फोहोरले शहर प्रदुषण गराएको भन्दै यसको दिगो व्यवस्थापन हुनुपर्ने बताए ।

सुवालले भने, “काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल भयो । काठमाडौं उपत्यकामा ७७ वटै जिल्लामा बस्ने र फोहोर त टनाटन हुने भयो । त्यसैले सरकारको पनि संलग्नता चाहियो । देशको सन्तुलित विकासका लागि फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ । बसाईंसराई बढिरहेको छ । बसाईंसराईलाई निरुत्साहित गर्नुपर्छ । फोहोर सरुवा रोगसँग सम्बन्धित छ । फोहोरमैलाको बन्दोबस्तो गर्नुपर्छ ।”

धादिङस्थित धुनिबेंसी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले प्रभावितहरुसँग फोहोर सुंगेर मर्ने की गोली खाएर मर्ने भन्ने दुई वटा विकल्प मात्रै बाँकी रहेको बताए । उनले फोहोरको दीर्घकालीन समाधान भन्दापनि तत्कालीन समाधान खोजिनुपर्ने बताए ।

शहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा भएको छलफलमा फोहोरमैला प्रभावित क्षेत्रका सांसद, काठमाडौँ उपत्यकाका सांसद, प्रदेश सभाका सदस्यहरू, ककनी र धुनीबेंसी नगरपालीकाका मेयरको सहभागिता थियो । शहरी विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्ययोजना बनाएर प्रधानमन्त्री समक्ष पेस गर्ने योजना बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !