१४ आश्विन २०८१, सोमबार

दूरगामी प्रभाव हेरेर विधेयक बनाउनुपर्छ: अध्यक्ष तिमिल्सिना

प्रकाशित मिति :  2 August, 2023 4:50 pm


काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले विषयको दूरगामी प्रभाव हेरेर मात्रै विधेयक बनाउनुपर्ने बताएका हुन् । उनले एक, दुई वर्षमै परिवर्तन हुनेगरी विधेयक बनाउनु नहुनेमा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले सांसदहरूले आफ्नो अध्ययनको सीमा बढाउँदै र विषयवस्तुको गहिराइमा पुगेर मात्रै विधेयक बनाउनुपर्ने बताए । नीति, निर्माण गर्न आएका सांसदहरु त्यता केन्द्रित हुन नसकेका भन्दै उनले जनतालाई पनि आफ्नो भूमिकाप्रति जागृत गराउनुपर्ने बताए ।

उनले संघीयतालाई कार्यान्वयन गर्नका लागि प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताए । संघले अधिकारहरू आफूलाई मात्र राख्नु नहुने उनको भनाइ छ । यसतर्फ सबैको खबरदारी आवश्यक रहेको उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले जिल्ला समन्वय समितिलाई कामकाजी बनाउन नसक्ने हो भने हटाउनुपर्ने धारणा राखे । उनले जिल्ला समन्वय समितिको औचित्यमाथि बहस गर्नुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले संघीय संरचनामा गएपछि जिल्लास्थित कार्यालयहरू कम हुने र पालिकामा जाने भनिएपनि अहिले जिल्लामा झनै धेरै कार्यालयहरू थुप्रिएका बताए । संघ, प्रदेश र स्थानीय तहकै आफू मातहतका कार्यालयहरू जिल्लामा थुप्रिएका उनले उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !