१४ आश्विन २०८१, सोमबार

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको संलग्नता हुन सक्ने कोइरालाको आशंका

प्रकाशित मिति :  3 August, 2023 1:01 pm


काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताएका हुन् ।

सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहेका (नवराज ढुंगाना) लाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको बताएका हुन् । उनले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरूले खोज्नुपर्ने बताए ।

उनले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान आझेलमा पर्ने दाबी गरे ।

उनले भने, ‘भ्रष्टाचारले देश गाँजेको छ । अर्को भनेको दण्डहीनता बढीरहेको छ । मान्छे मार्नुहुन्छ, राजनीतिक लेपमा छुट्नुहुन्छ । सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालतले निर्णय गरिसकेको हुन्छ । यस्ता कुरलाई हामीले ठिक राख्न सकेनौँ भने देश अराजकतातिर जान्छ । अहिले गइरहेको छ । भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ । एउटा प्रकरण निस्किन्छ, त्यो इस्यु अघि बढाउँदै अर्को इस्यु आउँछ, पहिलाको इस्यु साइड लाग्छ । भूटानी शरणार्थीपछि ललिता निवास जग्गा प्रकरण आयो, भूटानी शरणार्थी प्रकरण रोकियो । झ्याप्प किन रोकियो भने माथि कोही न कोही मान्छे परिरहेको हुन्छ । सुन काण्ड आयो, मैले भनिरहनु पर्दैन, यो पनि सामसुम हुन्छ, किनभने माथिल्लो कोही इन्भल्व हुन्छ । सुनकाण्डमा त नेपालका बजार धेरै ठूलो छैन । यो काण्ड चल्दाचल्दै अर्को काण्ड निस्किन्छ, कुनैपनि काण्ड निस्कर्षमा पुग्दैन, किनभने माथिका मानिस सहभागी हुन्छन् । “

नेता कोइरालाले संसद अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताएका छन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरिरहेको प्रसंग निकाल्दै भएकाे कुरा संसदमा बोल्दा राम्रो हुने र त्यसमा सत्तापक्षका सांसदहरूले पनि आफ्ना धारणा राख्न पाउने बताएका हुन् ।

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफू नमिलेको र बोलाएपछि मात्रै पार्टी सभापति कहाँ जाने गरेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !