१४ आश्विन २०८१, सोमबार

सरकारले भ्रष्टाचारका अरू प्रकरणहरूको पनि छानबिन गर्छ : मन्त्री मोदी

प्रकाशित मिति :  4 August, 2023 5:31 pm


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरू प्रकरणहरूमा पनि छानबिन गर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरूमा पनि छानबिन गर्ने बताएका हुन् ।

मन्त्री मोदीले देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणको निष्पक्ष तरिकाले छानबिन गरिरहेको बताए । उनले सरकारले आफ्ना नजिककालाई बचाउने र अर्काका मान्छेलाई कारबाही गर्ने नीति नलिएको स्पष्ट पारे ।

मन्त्री मोदीले स्थानीय तहहरू निमित्तको भरमा चलाउने कुराको अन्त्य गर्न लागेको बताए । उनले मधेस प्रदेशमा अब कतैपनि निमित्तको भरमा स्थानीय तह नचलेको बताए । हाल देशभरमा करिब ९० स्थानमा निमित्तको भरमा चलिरहेको भन्दै त्यसको पनि क्रमशः अन्त्य गर्दै जाने बताए । उनले कर्मचारीहरूको सरुवा मेरिटको आधारमा गर्ने पनि बताए ।

मन्त्री मोदीले आफू अनुकूलका कर्मचारीहरूलाई सरुवा गर्नका लागि राजनीतिक तहबाट र स्थानीय जनप्रतिनिधिहरूबाट पनि दबाब आउने गरेको भन्दै त्यसो नगर्न आग्रह गरे । आफू अनुकूलका कर्मचारीलाई सरुवा गर्दा देशमा सुशासन कायम हुन नसक्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !