१४ आश्विन २०८१, सोमबार

संविधानलाई पूर्णता दिने काम नेसपाको मुख्य कार्यभार : बाबुराम भट्टराई

प्रकाशित मिति :  4 August, 2023 5:54 pm


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै उनले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने पार्टीको मुख्य कार्यभार रहेकोमा जोड दिए ।

अध्यक्ष भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा मुलुक प्रवेश गरेकाले संविधानलाई पूर्णता दिने, कार्यान्वयन ठिक ढंगले गराउने र नेपाली जनतालाई सुशासन तथा समृद्धि दिने काममा आफूहरू लागिपर्ने प्रतिबद्धता समेत जनाए ।

भट्टराईले नेपाललाई संसारको समुन्नत देशहरूको दिशामा अघि बढाउने कार्यभारलाई आफ्नो पार्टीले आत्मासाथ गरेर अघि बढिरहेको पनि जिकार गरे ।

‘हिजो व्यवस्था फेर्न संघर्ष गर्ने, लड्ने, जेल जाने काम प्रमुख थियो । तर, आज संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ जारी भैसकेको छ । भलै त्यसका कतिपय अपूर्णहरु रहे’, उनले भने, ‘प्रधान कुरा अब यो संविधानलाई, यसको अपूर्णतालाई पूर्णता दिने, यो संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्ने र जनतालाई सुशासन र समृद्धि दिँदै देशलाई संसारको एउटा समुन्नत देशहरुको दिशामा पुर्‍याउने कार्यभार हुन्छ ।’

अध्यक्ष भट्टराईले आफ्नो पार्टीले अरू पार्टी जस्तो सत्ताका लागि मरिहत्ते नगर्ने पनि दाबी गरे । उनले एउटा जीवन्त पार्टीमा फरक विचार आउन सक्ने भन्दै त्यसलाई संघर्ष, एकता र रूपान्तरण माध्यामबाट व्यवस्थापन गर्दै अघि बढाउने बताए ।



प्रतिक्रिया दिनुहोस !