१४ आश्विन २०८१, सोमबार

धनुषामा चोरीका घटना बढेः यस्तो छ तीन आर्थिक वर्षको तथ्यांक

प्रकाशित मिति :  5 August, 2023 12:15 pm


काठमाडौँ । पछिल्लो समय धनुषामा बेरोजगारी तथा लागुऔषध दुर्व्यसनीहरूको संख्या बढ्दै जान थालेपछि चोरीका घटनाहरूमा वृद्धि भएको छ । पछिल्ला वर्षहरूको तुलनमामा धनुषामा चोरीका घटनाहरू दोब्बरले वृद्धि भएको हो ।

जनकपुरधामलगायतका स्थानमा मोबाइल चोरी, पाकेटमारी, मोटरसाइकल चोरीलगायतका घटनाहरू हुनु सामान्य जस्तै भइसकेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा धनुषामा ५ सयभन्दा बढी चोरीका घटनाहरू भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा ५ सय ८७ वटा चोरीका घटना भएको छ । जबकि आर्थिक वर्ष २०७८/७९ मा २५१ र आर्थिक वर्ष २०७७/७८ मा २४० वटा चोरीका घटनाहरू भएका थिए ।

गत आर्थिक वर्षमा समेत उजुरी दिन आउनेको संख्या न्युन रहेकाले ४७४ वटा घटनामा अभद्र व्यवहार मुद्दा चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । चोरीका घटनाहरू बढी देखिए पनि उजुरी कमै आउने गरेकाले अभद्र व्यवहारमा मुद्दा चलाउनुपर्ने उनको भनाइ छ ।

आर्थिक वर्ष २०७८/७९मा २५१ वटा चोरीको घटना हुँदा १३३ घटनामा अभद्र व्यवहार मुद्दा र २०७७/७८ मा २४० चोरीका घटना हुँदा १५९ घटनामा अभद्र व्यवहार मुद्दा चलाउनुपरेको गौतमले बताए ।

चोरीका घटनाहरूमा अधिकांश युवाहरू सक्रिय रहेको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकले देखाउँछ । ८० प्रतिशतभन्दा बढी घटनामा २५ वर्ष मुनिका युवाहरू चोरीमा संलग्न रहेको पाइएको हो ।

अभिभावकले समय नदिने, अभिभावक वैदेशिक रोजगारमा गएकाहरूको सन्तान र लागुऔषध दुर्व्यसनको कुलतमा फसेका युवाहरू आफ्नो दुर्व्यसनको ईच्छापूर्तिका लागि चोरी गर्ने गरेको प्रहरी नायव उपरीक्षक गौतमले बताए ।

चोरीका घटनाहरूमा वृद्धि हुँदा जिल्ला प्रहरी कार्यालय धनुषाले चोर पक्राउ गर्ने अभियानलाई समेत तीव्र बनाएको छ । चोरीका घटनाहरूलाई निर्मुल पार्न विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन, रातको समयमा पैदल गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचमा कडाइ, भीडभाड हुने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको गौतमले बताए ।

मोटरसाइकल, साइकल, हेल्मेट, घरको सामग्री चोरी, धर्मशाला र मन्दिरमा चोरी तथा लुटपाट, पसलबाट नगद चोरी लगायतका घटनाहरूमा वृद्धि हुँदै गइरहेको गुनासो बढ्न थालेपछि धनुषा प्रहरीका लागि यसलाई नियन्त्रण गर्न चुनौतिको विषय बन्दै गइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !