१४ आश्विन २०८१, सोमबार

जग्गा तत्काल फकुवा गर्न लुम्बिनी प्रदेश सरकारसँग माग, असहयोग गर्ने गाउँपालिकाकै चेतावनी

प्रकाशित मिति :  6 August, 2023 10:59 am


काठमाडौँ । राप्ती गाउँपालिकाले जग्गा रोक्का फुकुवा नगरेर प्रदेश सरकारलाई असहयोग गर्ने चेतावनी दिएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तीन वर्षदेखि रोक्का रहेको जग्गा तत्काल फुकुवा नगरेर प्रदेश राजधानी व्यवस्थापनमा सहयोग नगर्ने चेतावनी दिएका हुन् ।

उनले मुख्यमन्त्री र अर्थमन्त्री काठमाडौँबाट फर्किएलगत्तै जग्गा फुकवा गर्ने सहमति भएको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा गाउँपालिका अध्यक्ष विष्टले भनेका छन्,“प्रदेश सरकारले जग्गा फुकुवाको निर्णय तत्काल गर्नुपर्छ,यदि नगरेमा राजधानी व्यवस्थापनमा स्थानीय सरकारले कुनै पनि सहयोग नगर्ने व्यहोरा समेत लुम्बिनी प्रदेश सरकार समक्ष जानकारी गराउदछु ।”

प्रदेश राजधानी घोषणा भएपछि सरकारले राप्ती उपत्यकामा २०७७ असोज १६ गतेदेखि जग्गा रजिष्ट्रेसन पास गर्न रोकेको थियो ।

सरकारको निर्णय अनुसार दाङ्को राप्ती गाउँपालिकाका ९ वटै वडा, गढवा गाउँपालिकाका १,२,३ वडा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकाका ९ र ८ नम्बर वडामा जग्गा राजिष्ट्रेसन पास रोक्का गरिएको थियो ।

भर्खरै बामे सर्दै गरेको राजधानीको सहरलाई सुन्दर र व्यवस्थित बनाउने विषयमा आफूहरू गम्भीर रहेको भन्दै यसमा सबै पक्षको साथ सहयोग हुन जरुरी रहेको अध्यक्ष विष्टको भनाई छ ।

उनले जनताको सम्पत्ति यति लामो समय यो वा त्यो बहानामा रोकिराख्नु उचित नभएको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !