१४ आश्विन २०८१, सोमबार

कान्ति बाल अस्पतालमा शय्या अभाव, एउटै बेडमा तीन जनासम्मको उपचार

प्रकाशित मिति :  6 August, 2023 1:42 pm


काठमाडौँ । कान्ति बाल अस्पतालमा शय्याको अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् ।

बालबालिकाहरूको रेफरल अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ । यस्तै, बालबालिकाहरूको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ ।

अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीहरू चाप छ । अस्पतालका निर्देशक डा।युवानिधि बसौलाले पर्याप्त शय्या नहुँदा उपचारमा अप्ठ्यारो भएको जानकारी दिए । उनले एउटा बेडमा दुईदेखि जना तीन जनासम्मलाई राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको बताए ।

अस्पतालमा ३३० शय्या छ । अस्पतालमा पर्याप्त शय्या नहुँदा एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति रहेको उनको भनाइ छ । डा।बसौलाले गत आर्थिक वर्षमा २ लाख बालबालीकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झन्डै नौ सय जना उपचारका लागि आउने गरेको बताए ।

डा।बसौलाले अस्पतालमा एक जना नर्सले ६ देखि ८ जना बिरामीलाई सेवा पुर्‍याउनुपर्ने अवस्था रहेको बताए । उनले कहिलेकाहिँ दुई जना नर्सले पूरै वार्ड हेर्नुपर्ने अवस्था आउने गरेको भन्दै कम्तीमा पनि पाँच सय जनाको हाराहारीमा नर्सिङ जनशक्ति चाहिने बताए । हाल अस्पतालमा दुई सय जना नर्स कार्यरत छन् ।

डा।बसौलाले भने, “बिरामी संख्या हेर्दाखेरी अहिले गर्मी मौसममा एउटै रेसियोमा बिरामी आउने देखिन्छ । अत्यधिक चाप चाहीँ साउन भदौ महिनामा देखिन्छ । दैनिक हेर्दाखेरी आठ सयदेखि नौ सयको हाराहारीमा ओपीडीमा आउनेको संख्या छ भने इमरजेन्सीमा एक सय ५० देखि दुई सय बिरामी आउने गर्छन् । हाम्रो अहिले तीन सय ३० बेडलेपनि धान्न सकेको छैन । एउटा बेडमा दुई जना तिन जना बसेको देख्न सक्नुहुन्छ । अब्जरबेसन वार्डमा २४ घण्टामा तीन चार जना बच्चा बसेकोसम्म भेट्न सक्नुहुन्छ । २५ बेडको अब्जरबेसन वार्ड र २५ बेडको इमर्जेन्सी छ । एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति छ । २५ बेडमा पनि ५०÷६० जना बालबालीका राख्नुपर्ने अवस्था छ । ओपीडी, फार्मेसी, ल्याबको रिपोर्ट हेर्दा दुई चार दिनदेखि बिरामीको अत्यधिक चाप छ ।”

अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटु रोगको ओपिडी सञ्चालन गर्दै आएको छ । दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको जानकारी दिए । कान्ति बालमा ५२ शय्याको आइसीयु सञ्चालनमा छ ।

एक हजार शय्याको अस्पताल निर्माण गर्ने गरी डिपिआर पूरा भएको जानकारी दिँदै डा।बसौलाले नौ अर्ब ३० करोडको लागतमा पाँच वटा भबन बनाउने योजना रहेको बताए । उनले इमरजेन्सी बाहेक अप्रेसनका लागि ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए ।

डा।बसौलाले भने, “एक हजार शय्याको अस्पताल निर्माण गर्नेगरी डिपिआर पूरा भएको छ । पाँच वटा बील्डीङ बनाउने योजना छ । जसमध्ये तीन वटा हस्पीटल बिल्डीङ र दुई वटा बिल्डिङ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि बनाउन लागेका छौं । खास गरी बेडको संख्या बढाउनुपर्ने देखिन्छ । ३३० बेडले धान्दैन । हामीले ५५० को ओएनएम गरेर स्वास्थ्य मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाइसकेका छौं । त्यो स्वीकृत भएर आएको खण्डमा अस्पतालको बेड संख्या बढ्ने र जनशक्तिपनि बढ्न गइ सेवा प्रबाह गर्न सजिलो हुनेथियो । नेपालका ७७ वटै जिल्लाबाट रेफर आउने, सात वटै प्रदेशबाट रेफर आउने हस्पिटल हो । २०–३० वर्षदेखि एउटै बिल्डीङमा सेवा उपलब्ध छ । जुन हस्पिटलको बिल्डिङ जाइकाले बनाएको थियो । अप्रेसन गर्नुपर्ने डेट अलिकति लामो हुन्छ । किनभने नेपाल भरीबाट बालबालिकाको अप्रेसनका लागि रेफरल आउँछ । भनेको जस्तो समयमा अप्रेसनको पालो आउँदैन । जस्तो आज आयो भने ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने हुन्छ, इमरजेन्सी बाहेक । हामीसंग जम्मा दुई वटा मेजरटी छ । र, कुनै दिनपनि खाली हुँदैन । ६ दिन अप्रेसन गर्दा पनि हामीले भिँड हटाउन सकेका छैनौं । अत्याधुनिक ओटी बनाउने भनेका थियौं, तर त्योपनि सफल हुन सकेन । अप्रेसन थियटरको संख्या बढाउनुपर्ने देखिन्छ । हामीसँग ९५ रोपनी जग्गा छ । जग्गाको अभाव छैन ।”

कान्ति बाल अस्पतालले निकट भविष्यमा नै एमआरआई सेवा सञ्चालन गर्ने योजना बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !