१४ आश्विन २०८१, सोमबार

सरकारले ऋण लिएर भए पनि हाम्रो पैसा दिनुपर्छः अध्यक्ष सिंह

प्रकाशित मिति :  6 August, 2023 1:56 pm


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिन्न भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरुलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने अभिव्यक्ति पछि अध्यक्ष सिंहले अर्थमन्त्री डा. महतले वर्तमान सरकार विगतको सरकारको निरन्तरता हो भन्ने कुरा विर्सन नहुने बताए ।

उनले सरकारले निर्माण कार्य सकेका आयोजनाको सरकारबाट पाउनु पर्ने भुक्तानी तत्काल व्यवस्था गर्नु पर्ने बताए । उनले सरकारले ऋण उठाएर, अनुदान मागेर, वैदेशिक ऋण लिएर वा र आन्तरिक ऋण उठाएर भए पनि निर्माण व्यवसायीहरुले पाउनु पर्ने भुक्तानीको सुनिश्चिता गर्नु पर्ने बताए ।

अध्यक्ष सिंहले निर्माण व्यवसायीको ५० अर्ब र म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न सरकारले नसक्ने अर्थमन्त्रीले स्वीकार गर्न राम्रो भएको बताए । उनले स्वीकार गरेर मात्रै नहुने भन्दै विगतको सरकारले गरेको कमजोरीको अपनत्व लिँदै भुक्तानीको व्यवस्था गर्नु पर्ने जिम्मेवारी अर्थमन्त्रीको भएको जनाए ।

मुलुकमा समस्या भएकाले अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन नसक्ने यर्थात कुरा व्यक्त गरेकाे सिंहकाे बुझाइ छ । “तर विगतका वर्षहरुमा विगतका सरकारहरुले गरेका कमी कमजोरीलाई यो सरकारले त्यसको अपनत्व गर्दिन। यो सरकार विगतका सरकारको निरन्तरता हो भन्ने कुरा अर्थमन्त्रीले विर्सनु हुन्न,” उनले थपे, “यसको निकास दिने जिम्मेवारी अर्थमन्त्रीको हो । ४ खर्बको योजनाहरु एक वर्ष म्याद थप गर्दै गर्दा जसरी निर्माण कम्पनीले काम गर्ने काम गर्ने कार्ययोजना बनाउँछ त्यसै गरेर काम गरेको भुक्तानीको सेडुल बनाएर व्यवसायीहरुलाई विश्वस्त पार्नु पर्छं ।”

सरकारले अहिले म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न नसक्ने अर्थमन्त्रीले स्वीकारेकाे चर्चा गर्दै उनले भुक्तानीको व्यवस्थापन गर्न नसक्ने भए त्यस्ता आयोजनाहरुलाई खारेज गर्न माग गरे ।

सिंहले सरकार अभिभावक भएको भन्दै जनतालाई भ्रमित गर्ने काम, निर्माण उद्योगलाई ध्वस्त बनाउने काम गर्न नहुने र निर्माण व्यसायीहरूलाई समाप्त गरेर निर्माण व्यवासायी मात्रै समाप्त नहुने भन्दै मुलुकको अर्थतन्त्र समाप्त हुने बताए ।



प्रतिक्रिया दिनुहोस !