ग्राण्डीमा ९ घण्टा लगाएर हात्तीपाइले रोगको सफल शल्यक्रिया
काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाइले रोगको शल्यक्रिया सफल भएको छ ।
गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा।जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाइलेको ९ घण्टा लगाएर गरिएको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।
म्याग्दी बेनी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी थियो । उनलाई २० वर्षअघि नै हात्तीपाइलेको समस्या देखिएको थियो । प्रा।डा।श्रेष्ठले प्लाष्टिक सर्जरी विधिबाट खुट्टाको शल्यक्रिया भएको जानकारी दिए । उनले अप्रेसनका लागि ९ घण्टा समय लागेको बताए ।
डा।श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा।समित शर्मा सहितको टोलीले ती युवकको शल्यक्रिया गरेका हुन् । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डा। श्रेष्ठले बताए । युवकलाई आज (बुधवार) डिस्चार्ज गरिएको छ ।