ह्याम्स आँधीका कारण नर्वेमा जनजीवन प्रभावित
काठमाडौँ। नर्वेमा ह्याम्स नामक आँधीपछि आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ । राजधानी ओस्लोबाट करिब १५० किलोमिटर उत्तर पूर्वमा रहेको ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा बाढी आएको हो ।
गत सोमबार आएको आँधीपछि आएको बाढीका कारण नर्वेमा ४ हजार भन्दा बढी संरचना ध्वस्त पारेको छ । ग्लोमाको पानीको सतह बढ्दै गएपछि प्रहरीले स्थानीयहरूलाई उद्धार गरेको थियो । आँधी सोमवारदेखि अहिलेसम्म पनि जारी रहेको बताइएको छ ।
नर्वेजियन नेचर ड्यामेज पुल एण्ड फाइनान्स नोर्गका अनुसार नर्वेमा प्राकृतिक प्रकोपको कारण ९ सय मिलियन नर्वेजियन क्रोनर (लगभग ८८।२ मिलियन अमेरिकी डलर) बराबरको सम्पत्ति नष्ट भएको छ । ११४ स्थानका सडक खण्डहरू बाढी र पहिरोका कारण सम्बन्ध विच्छेद्य बनेका छन् ।
नर्वेजियन सार्वजनिक सडक प्रशासनले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूममा इनल्याण्डेटलाई राखेको छ । सो क्षेत्रमा राष्ट्रिय आपतकालीन टोली खटाएको छ । आँधीका कारण २ हजार बढी नागरिक विस्थापित भएका छन् । नर्वेका न्यायमन्त्री एमिली एङ्गर मेहलले सरकारले आँधी प्रभावित क्षेत्रका नागरिकलाई उद्धार गर्न थप हेलिकप्टर र अन्य स्रोतहरू परिचालन गरेको बताए ।