ज्योतिषको पाठ्यक्रममा सिद्धान्त, संहिता र होराका पाठ्यसामग्री समावेश हुनुपर्ने
काठमाडौँ। नेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक एवं सम्बन्धनप्राप्त विद्यापीठका ज्योतिष विषयको पाठ्यक्रममा सिद्धान्त, संहिता र होरा तीनै विषय समावेश गरी पाठ्यसामग्री समावेश गरिनुपर्नेमा जोड दिइएको छ ।
वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइले हालै काठमाडौंमा आयोजना गरेको ‘मानव जीवनमा ज्योतिषीय फलादेशको महत्व’ विषयक अन्तक्र्रियाका अधिकांश वक्ताले सिद्धान्त, संहिता र होरा तीन विषयका फरक–फरक पाठ्यक्रम एवं विषयवस्तुको अध्यापन गराउँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको धारणा राखेका हुन् ।
कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले मानव समस्या समाधानको बाटो ज्योतिषले दिनसक्ने गरी पाठ्यक्रम एवं पाठ्यपुस्तकको निर्माण गरिनुपर्नेमा जोड दिए ।
मानिसले ज्योतिषशास्त्रका माध्यमबाट समस्याको समाधान पाउन सके समाजका लागि फाइदाजनक हुने भएकाले त्यसैअनुसारका पाठ्यपुस्तक एवं पाठ्यसामग्री निर्माण गरी अध्यापन गराउनुपर्ने उनको भनाइ थियो । समितिले पनि यसका लागि आवश्यक काम गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विद्यापीठ फलित ज्योतिष विषयका प्रा. डा. माधवप्रसाद पाण्डेयले ज्योतिष गहिराइमा पुगेर अध्ययन, अनुसन्धान गरी फलादेश गर्ने विषय भए पनि हल्कारूपमा लिइएको भन्दै गुनासो गरे । उनले अध्ययन, अनुसन्धान र साधनाले नै फलादेशमा सफल भइने शास्त्रीय प्रमाण रहेको भनाइ राखे।
उपप्राध्यापक हरिप्रसाद पौडेलले सिद्धान्त र फलित ज्योतिष दुईवटा विषय बनाउन नहुने धारणा राखे । दुवै विषयको पाठ्यक्रम नै गलत रहेको उनको भनाइ थियो । सिद्धान्त ज्योतिषमा आचार्य गरेकाले मुहूर्त निकाल्न नसक्ने र फलित ज्योतिषमा आचार्य गरेकाले गणितका विषय नजान्ने गरेकाले दुवैको एउटै पाठ्यक्रम बनाएर अध्ययन एवं अध्यापन गराउनुपर्नेमा उनको जोड छ ।
एकाइ प्रमुख डा. शान्तिकृष्ण अधिकारीले पूर्वीय दर्शनमाथि आक्रमण हुन थालेको महसुस गर्दै प्रत्येक महिना कुनै एक विषयमा कार्यपत्र प्रस्तुतिसहित अन्तक्र्रिया गर्ने गरिएको जानकारी दिए ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कार्यकारी निर्देशक नन्दीश अधिकारी, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकाल, उप प्रा. डा. प्रेमराज न्यौपानेलगायतले समाजमा ज्योतिष शास्त्रको महत्वपूर्ण स्थान रहेकाले यसको समसामयिक एवं व्यावहारिक अध्ययन हुनुपर्ने, विश्वविद्यालयले अध्ययन तथा अनुसन्धानका लागि नीति, कार्यक्रम र बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।